युइएफए नेसन्स लिग

पोर्चुगलमाथि स्विट्जरल्यान्डको जित

जेनेभा । ह्यारिस सेफेरोभिचले निर्णायक गोल गरेपछि युइएफए नेसन्स लिगमा स्विट्जरल्यान्डले पोर्चुगललाई १-० ले पराजित गरेको छ । प्रतियोगितामा पोर्चुगलको यो पहिलो हार हो ।

घरेलु मैदानमा सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन सेफेरोभिचले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । प्रतियोगितामा स्विट्जरल्यान्डको यो पहिलो जित हो । यसअघिको खेलमा स्विट्जरल्यान्ड पोर्चुगलसँग ४–० ले पराजित भएको थियो । फर्नान्डो सान्तोषको प्रशिक्षणमा रहेको टिमले कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा बराबरी गोल फर्काउन असफल रह्यो ।

हारसँगै पोर्चुगल समूह ए२ को दोस्रो स्थानमा झरेको छ । पोर्चुगलले चार खेलमध्ये दुईमा जित, एकमा बराबर र एक खेलमा हारको नतिजा निकाल्दै सात अंक जोडेको छ । यस्तै, जितसँगै अंकको खाता खोलेको स्विट्जरल्यान्ड अझै तालिकाको पुछारमा छ । स्विट्जरल्यान्डले चार खेलमध्ये तीनमा हार र एक खेलमा जितसहित तीन अंक जोडेको छ ।