एन्फा निर्वाचन उम्मेदवार परिचय

एन्फा निर्वाचन उम्मेदवार परिचयः वरिष्ठ उपाध्यक्षमा खड्काको चुनौती

काठमाडौं । वीरबहादुर खड्का काठमाडौं क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहँदा सिन्धुपाल्चोक जिल्ला फुटबल संघको अध्यक्ष भइसकेका थिए ।

स्थानीय क्लबहरुबाट जिल्ला स्तरीय फुटबल प्रतियोगितामा खेल्दै गर्दा खड्का २ं०५२ सालमा समग्र सिन्धुपाल्चोकको फुटबल हाँक्ने नेता भएका थिए । त्यसपछिमात्र हो, खड्का शीर्ष डिभिजनको फुटबल खेल्न काठमाडौं आएको । संयोग जुर्यो कसरी भने त्योबेला राष्ट्रिय खेलकुद परिषदले पूर्व राष्ट्रिय खेलाडी राजेश मास्केलाई प्रशिक्षक बनाएर सिन्धुपाल्चोक पठाएको थियो । स्थानीय प्रतियोगितामा खड्काको खेलबाट मास्के प्रभावित भए । काठमाडौंमा सहिद स्मारक लिग चलिरहेको थियो । मास्केको टोलकै काठमाडौं क्लबलाई खेलाडी आवश्यक थियो ।

यो कुरा हो, २०५४ सालको । मास्केको सिफारिसमा खड्काले काठमाडौं क्लबमार्फत शीर्ष डिभिजनको फुटबल खेल्ने गन्तव्य हासिल गरे । खड्काले काठमाडौं क्लबबाट खेलिरहँदा व्यावसायिक फुटबल खेल्ने जिल्ला अध्यक्षका रुपमा एउटा रमाइलो इतिहास बन्यो । नेपाली फुटबलमा यस्तो इतिहासमा नाम लेखाउने सायद खड्का एक्लो फुटबलकर्मी हुन् ।

लगातार तीन कार्यकाल उनले सिन्धुपाल्चोक जिल्ला फुटबल संघको नेतृत्व हाँके । अध्यक्षको जिम्मेवारीमा पुगिसकेपछि पनि फुटबल खेल्ने धित मरेको थिएन । खासमा फुटबल खेल्नु उनको लगाब थियो । अध्यक्ष त संयोगले मात्र बनेका थिए । तर पदाधिकारी भइसकेपछि खड्का आफूखुसी गर्नका लागि स्वतन्त्र थिएनन् । २०५६ सालमा केही साथीहरुले खड्कालाई बुट पूर्णरुपमा थन्क्याएर जिल्लाको फुटबल अघि बढाउने अभियानको नेतृत्वमा समर्पित हुन सुझाए ।  

‘सानै देखि फुटबल प्रति मेरो लगाव थियो । मैले सिन्धुपाल्चोक जिल्ला र त्यहाँका स्थानीय क्लबबाट धेरै प्रतियोगिताहरु खेलेको छु,’ नेपालको जर्सी लगाउने सपना अधुरै छोडेका खड्काले भने, ‘स्थानीय प्रतियोगिताहरु खेल्ने क्रममै म एक पटक यु–१९ टोलीको बन्द प्रशिक्षणमा परे पनि अन्तिम टोलीमा भने पर्न सकिन ।’

अध्यक्ष भइसकेपछि व्यावसायिक फुटबल करियर सुरु गरे पनि लामो समयसम्म खेल्न नसक्नुका उनीसँग थुप्रै कारण छन् ।

‘आफ्नो जिल्लामा पनि खेलाडी उत्पादनका लागि केही गर्नुपर्छ भनेर नै म खेलाडी जीवनबाट विस्तारै टाढा हुन थालें । हामीले सिन्धुपाल्चोका सिन्धु कपको आयोजना गर्न थाल्यौं । हाम्रो प्रयास सार्थक पनि भयो । एन्फा एकेडेमीको पहिलो ब्याचका लागि देशभरबाट प्रतिभावान खेलाडी छनोट गर्दा हाम्रो जिल्लाबाट चार जना परे,’ मानसाजन राजभण्डारी, धुब्र श्रेष्ठ, सुदिप श्रेष्ठ र विपिन श्रेष्ठ एन्फा एकेडेमीको पहिलो ब्याचमा परेको प्रशंग स्मरण गर्दै खड्का भावुक भए ।

२०६३ मा सिन्धु कपको फाइनलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालिन अध्यक्ष गणेश थापा प्रमूख अतिथिको रुपमा लामोसाँघु पुगेका थिए । देशभित्र फुटबल गतिविधिहरु सुस्ताइरहेको बेला सिन्धु कपको तामझाम देखेपछि थापाले खड्कालाई केन्द्रिय सदस्यको रुपमा एन्फा कार्यसमितिमा आएर समग्र देशको फुटबल विकासमा लाग्न आह्वान गरे । त्यसपछि हो, एन्फाको कार्यसमिति सदस्यका रुपमा खड्काको प्रभाव देशव्यापी बन्न थालेको ।

तत्कालिन अध्यक्ष थापा फिफाको १० वर्षको प्रतिबन्धमा परेपछि एन्फा नेतृत्वका लागि नरेन्द्र श्रेष्ठ र कर्मा छिरिङ शेर्पाबीच मध्यावधी निर्वाचन भयो । त्यसअघिका उपाध्यक्ष श्रेष्ठले चुनाव जिते । श्रेष्ठ अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा खड्काको बढोत्तरी भयो । अब उनी झन माथिल्लो स्तरको फुटबल नेता भए ।

खड्कालाई गणेश थापाको सबै भन्दा प्रिय पात्रका रुपमा हेरिन्थ्यो । तर खड्का २०७४ सालमा चेन्ज एन्फाको नारासहित आएको शेर्पा नेतृत्वको प्यानलमा मिसिए । शेर्पा प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिए र जिते ।

‘अहिले एन्फामा भएका कर्माछिरिङ शेर्पा, इन्द्रमान तुलाधर, पंकजविक्रम नेम्वाङलगायत सबै जना गणेश थापा अध्यक्ष हुँदाकै मान्छे हुन् नी । म मात्र त होइन,’ खड्काले भने, ‘मैले शेर्पाको प्यानलमा जाँदा पनि गणेश दाइ (गणेश थापा) लाई प्रष्ट रुपमा भनेको थिएँ । कर्माजीले आन्दोलनको क्रममा लिएको सामूहिक एकता, पारदर्शिता, विकेन्द्रिकरण लगायतका एजेन्डा मन परेर उहाँको समूहमा गएको हुँ ।’

शेर्पाको एजेन्डा मन परेर पछिल्लो निर्वाचनमा सघाए पनि चुनावपछि अध्यक्षले त्यसअनुसार काम नगरेको खड्काको गुनासो छ । शेर्पा केही सीमित व्यक्तिको घेराबन्दीबाट माथि उठ्न नसकेको आरोप लगाउने खड्का आसन्न निर्वाचनका लागि अर्को प्यानलमा लागेका छन् ।

चेन्ज एन्फाको नारासहित चार वर्षअघि एन्फाको सत्तामा क्लिन स्विप गरेको शेर्पा नेतृत्वको टोली आफै विभाजित भएर असार ६ गते हुने निर्वाचनमा प्रस्तुत हुँदैछ । जसमा शेर्पाको नेतृत्वमा एउटा प्यानल चुनावी मैदानमा छ भने त्यसको विरुद्धमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पूरा प्यानलका साथ प्रतिस्पर्धामा उत्रिएका छन् । र, खड्का नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन् । खड्काले शेर्पा प्यानलबाट उम्मेदवारी दिएका सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यस्तो अवस्था आउनुमा खड्का शेर्पाको कार्यशैली दोषी देख्छन् । शेर्पाले निर्वाचित भएपछि एन्फालाई विधि र विधानको विपरित सञ्चालन गर्न खोज्दा पूरा चार वर्ष आफूले औला उठाइरहेको उनी बताउँछन् ।

‘हिजो कार्यसमितिमा सबैकुरा विधानसम्मत हुनुपर्छ भन्दै मैले कुरा उठाउँदा अरु साथीहरु चुप रहन्थे । चुनाव जितेर आएपछि पहिलो बैठकमै मलाई एक्ल्याउने काम गरियो,’ खड्का स्मरण गर्छन, ‘मलाई कर्माजीको विरोध गरेको आरोप लाग्ने गर्दथ्यो । मैले राम्रो काममा कर्माजीलाई साथ पनि दिएको छु । विधानविपरितको काममा मात्र मैले औला उठाएको हुँ । अध्यक्ष र महासचिव (इन्द्रमान तुलाधर)जीले मनोमानी ढंगबाट एन्फा चलाएपछि हामीले कार्यसमितिमा रहेर पनि योजनाअनुरुप काम गर्न सकेनौं ।’

वर्तमान नेतृत्वले ‘फुटाउ र राज गर’को नीति अख्तियार गरेको खड्काको आरोप छ । उनका अनुसार अध्यक्ष शेर्पाले नियोजित रुपमा महासचिव तुलाधरसँग आफ्नो सम्बन्ध विगारेका थिए ।

‘एक दिन कर्माजीले कार्यसमितिको बैठक अघि मलाई बोलाएर सिइओसम्बन्धी एजेण्डा उठाउनुस । त्यसमा मेरो समर्थन रहन्छ भन्नुभयो । तर बैठकमा मैले त्यही एजेण्डा उठाउँदा किन सिइओ चाइयो भन्दै मलाई इन्द्रमानजीको विरोधीको रुपमा उभ्याउने काम भयो,’ उनले भने, ‘पछि उहाँले इन्द्रमानजीसँगै मिलेर केन्द्रिय कार्यसमिति र साधरणसभामा भएका निर्णय उल्ट्याउने काम गर्नुभयो । हामी नेतृत्वमा भए पनि निरन्तर प्रतिपक्षीजस्तो मात्र रह्यौं ।’

चुनावमा नेम्वाङ प्यानलबाट उम्मेदवारी दिए पनि आफू स्वतन्त्र फुटबलकर्मीमात्र रहेको उनको दाबी छ । आफूलाई विभिन्न समयमा विभिन्न मानिससँग जोडेर हेर्ने गरिए पनि सत्य त्योभन्दा फरक रहेको उनको स्पष्टिकरण छ ।

भन्छन्, ‘म हिजो पनि कुनै पक्षको थिइनँ र आज पनि कुनै पक्षको मान्छे होइन । म हिजो कर्माजीको एजेण्डा मन परेर उहाँको समूहमा थिएँ । आज पंकजजीको एजेण्डा मन परेका कारण उहाँसँग छु । म खासमा फुटबलको मान्छे हो । खेलाडीको मान्छे हो । प्रशिक्षकको मान्छे हो । रेफ्रीको मान्छे हो । क्लबको मान्छे हो । जिल्लाको मान्छे हो ।’

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका खड्कासँगको कुराकानी बिट मार्नुअघि खेलाडी डटकमले सोधेको थियो, जितेर आए के गर्नुहुन्छ ? तपाईका एजेन्डा के हुन त ?

उनले छोटो उत्तर दिए, ‘म सधै खेलाडी र समग्र फुटबल विकासमा लागेको मान्छे हुँ । वरिष्ठ उपाध्यक्षमा जितेर आएपछि पनि मेरो प्राथमिकता खेलाडीको हकहितकै लागि हुन्छ । काठमाडौंमा धेरै फुटबल क्लबहरु छन्, तर अभ्यासका लागि उचित मैदान छैन । त्यसको व्यवस्थापन गर्नेछौं । हामी हाम्रो नयाँ कार्यकालभित्र कम्तीमा तीन वटा सुविधा सम्पन्न फुटबल एकेडेमीको निर्माण गर्छौ । लिगलाई थप व्यवस्थित गर्दै होम एण्ड अवे पद्धतीमा कम्तिमा ६ महिना लिग खेल्ने वातावरण बनाउँछौं । कार्यविभाजनसहित आफ्नो योजनालाई कार्यान्यन गर्छौ ।’