इङ्लिस प्रिमियर लिग

कोन्टे टोटनहममै बस्न सहमत

लन्डन । एन्टोनियो कोन्टेले आगामी  सिजन पनि इङलिस प्रिमियर लिगको क्लब टोटनहमको प्रशिक्षणलाई निरन्तरता दिने भएका छन् ।

प्रिमियर लिगको शीर्ष चारमा राख्दै टोलीलाई च्याम्पियन्स लिगमा छनोट  गराए पनि कोन्टे टोटनहममै रहने वा नरहनेबारे दुबिधा बढेको थियो ।

  कोन्टेले शुक्रबार क्लबका निर्देशक फाबियो पाराटिचीसँगको भेटमा प्रशिक्षण निरन्तरता दिन सहमत रहेको जनाएका थिए ।

टोटनहमसँग कोन्टेको सम्झौता अझै एक वर्ष बाँकी छ । उनले सम्झौता नविकरण गर्ने वा नगर्ने भन्ने बारे केही खुलाइएको छैन 

  कोन्टे गत नोभेम्बरमा टोटहनमको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा टोटनहमले प्रिमियर लिगको चौथो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट काटेको थियो ।

फेर्बुआरीमा बर्नलीसँग पराजित भएपछि कान्टेले आफू टोलीको नतिजाका कारण निराश भएको बताएका थिए । उनले खेलाडीहरुले प्रशिक्षकलाई हारको दोषी मानेमा क्लब छोड्न तयार रहेको बताएका थिए ।

 प्रिमियर लिगमा टोटनहमको त्यो पाँच खेलमा चौथो हार थियो ।