रोहित चन्द

पर्सिजासँगको यात्रा निकै उत्कृष्ट रह्योः रोहित चन्द

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर रोहित चन्दले इन्डोनेुियन क्लब पर्सिजा जाकार्तासँगको यात्रा निकै उत्कृष्ट रहेको बताएका छन् ।

शनिबार जाकार्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाई भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका एक सय १९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । र, सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए ।

क्लब छाड्ने भएसँगै रोहितले सामाजिक सञ्जालमा आफूलाई जाकार्ताले राम्रो खेलाडीमात्र नभई असल मानिस पनि बनाएको लेखेका छन् ।

‘युवा अवस्थामै जकार्तासँग जोडिँदा क्लबले मलाई राम्रो खेलाडीमात्र नभई एक असल मानिस पनि बनायो । मेरो करियरका सफलता र असफलता दुवै क्षणमा क्लबले ममाथि पूर्ण विश्वास र साथ दियो । जाकार्ताबाट खेल्नु मेरो लागि निकै सम्मानको कुरा हो र क्लबको उपाधि यात्रामा सहयोग पुर्याउन पाउनु असाधारण अनुभव थियो । सन् २०१८ म सधैँ कृतज्ञ रहने वर्षको रुपमा रह्यो । जब हामीले लिग उपाधि जितेका थियौं र म लिगको उत्कृष्ट खेलाडी चुनिएको थिए । यो हामी सबैको संयुक्त प्रयासको नजिता थियो र विशेष गरी जाकमानिया (समर्थक) हरुको, जो विश्वकै उत्कृष्ट समर्थक हुन् । व्यवस्थापक, क्लब, प्रशिक्षक, टिमका सहकर्मी, खेल अफिसियलहरु र समर्थकहरुबाट पाएको साथ सधैँ मेरो ह्रदयमा रहिरहने छ । भारी ह्रदयसाथ, मलाई लाग्छ अब क्लबलाई ‘गूडबाई’ भन्ने समय आएको छ । पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले गर्व र सम्मानसाथ क्लबको प्रतिष्ठालाई बोकेको छु । पर्सिजाको लागि खेल्नु मेरो लागि सम्मानको कुरा थियो र आशा छ हामी कुनै दिन फेरी सँगै यात्रा गर्नेछौं ।’

अर्को पटकका सम्मका लागि ।

रोहित चन्द, 

जाकमानिया नेपाल