एन्फा चुनाव

म खेलाडीको उम्मेदवार होः वीरबहादुर खड्का

काठमाडौं । चुनावका लागि पंकजविक्रम नेम्वाङ पक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएपछि अखिल नेपाल फुटब संघ (एन्फा) का उपाध्यक्ष विरबहादुर खड्काले आफू खेलाडीहरुको उम्मेदवार भएको बताएका छन् ।

शुक्रबार उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको समेत बताए ।

‘म केही भन्दिन तर हामी गर्छौं । मेरो उम्मेदवारी विगत तीन हप्तादेखि १० राष्ट्रिय खेलाडीको विषयजस्ता कुराहरुका लागि हो । छानविन समितिले प्रतिवेदन बुझाइसकेपछि पनि खेलाडीले दिनहुँ आएर गुनासो गरिरहँदा हामी केही गर्न सकिरहेका छैनौं । खेलाडीले हाम्रो भविष्य के भनेर गुनासो गरिरहँदा अध्यक्ष र महासचिव आ–आफ्नो कोठामा बस्नुभयो,’ उनले भने, ‘महासचिवले अध्यक्षलाई फोन गर्नुभयो तर अध्यक्षले खेलाडी र उपाध्यक्षहरुसँग भेट्न चाहनुभएन । खेलाडीहरुले कर्माछिरिङ शेर्पाले फुटबल चलाउन सक्नुहुन्न अब तपाइहरु आउनुपर्छ भन्नुभयो । त्यसैले म खेलाडीको उम्मेदवार हुँ । उहाँलाई फुटबलको माया छैन । खेलाडीको मतलब छैन । राजनीति नै चाहिने हो भने अब प्रदेश र केन्द्रको चुनाव हुँदैछ । त्यहाँ जानुस । म नेम्वाङको टिमबाट उम्मेदवारी घोषणा गर्दछु ।’

एन्फाको केन्द्रीय चुनाव आगामी असार ६ गते हुने तालिका छ ।