सहिद स्मारक सी डिभिजन लिग

आरसी ३२ को जितमा विवेकको निर्णायक गोल

काठमाडौं । विवेक सन्तोषीको गोलमा सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी ३२ फुटबल क्लबले महाविर क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विवेकले ५०औं मिनेटमा गरेको गोल नै आरसी ३२ को जितमा पर्याप्त बन्यो ।

जितसँगै सात खेलबाट १९ अंक जोडेको आरसी ३२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट नौं अंक जोडेको महाविर तालिकाको आठौं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा खालिबारी युथ फुटबल क्लब र पुल्चोक स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन लिग छनोटमा घटुवा हुनेछन् ।