सञ्जु चौधरी

सञ्जुको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

कोहलपुर । भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार काठमाडौंमा झुन्डिएको अवस्थामा मृत भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके लगिएको थियो । बाँकेको राप्तिसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको गहतराजले बताए ।

१३औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनतर्फबाट स्वर्ण पदक विजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्थिन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

चौधरीको गृहनगरमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिको छ ।