खेलाडी सरुवा

हाल्यान्ड सिटीमा

लन्डन । म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हाल्यान्डसँग सम्झौताका लागि सैद्धान्तिक रुपमा सहमति गरेको पुष्टि गरेको छ ।

सिटीले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत जुलाई १ मा क्लब र हाल्यान्डबीच सम्झौता हुनसक्ने जनाएको छ ।

नर्वेका २१ वर्षीय युवा स्ट्राइकर हाल्यान्डलाई भित्र्याउने पछिल्लो समय युरोपका शीर्ष क्लबहरु लागिपरेका थिए ।

सिटीले आफ्नो वेबसाइटमा बोरुसिया डर्टमन्ड स्ट्राइकर हाल्यान्डको सरुवाको घोषणा गर्न सक्ने बताएको छ । यद्यपि, सिटीले हाल्यान्डसँग व्यक्तिगत समझदारी हुन भने बाँकी रहेको बताएको छ ।

बोरुसिया डर्टमन्डबाट ८८ खेलमा ८५ गोल गरेका हाल्यान्ड सिटीको नौ नम्बर जर्सीका लागि सर्जियो अग्युइरोको उत्कृष्ट विकल्प हुनसक्ने छन् ।