इङ्लिस प्रिमियर लिग

लिभरपुलको उपाधि सम्भावना जीवितै

लन्डन । साडियो मानेले दोस्रो हाफमा गरेको गोलमा मंगलबार एस्टन भिल्लालाई २-१ ले पराजित गर्दै लिभरपुलले इङलिस प्रिमियर लिगको उपाधि सम्भावना जीवित राखेको छ । 

शनिबार टोटनहमसँग १-१ को बराबरीमा रोकिएको लिभरपुल एस्टन भिल्लाविरुद्ध पनि अंक बाँड्ने संघारमा थियो । तर मानेको गोलमा लिभरपुलले महत्वपूर्ण तीन अंकसहित शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको हो ।

तेस्रो मिनेटमा डोग्लास लुइजको गोलमा भिल्लाले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै जोयल माटिपले लिभरपुललाई खेलमा फर्काएका थिए । ६५औं मिनेटमा मानेले गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त बन्यो ।

३६ खेलमा ८६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । शीर्ष स्थानको सिटीको समान ८६ अंक रहेको छ । सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ ।

बुधबार उल्भरहमटनविरुद्ध सुखद नतिजा निकाल्न सके सिटीले शीर्ष स्थानमा पुन तीन अंकको अग्रता लिनेछ ।

एकेै सिजन चार उपाधिको लक्ष्यमा रहेको लिभरपुलले शनिबार एफए कपको फाइनलमा चेल्सीको सामना गर्नेछ । मंगलबार भने लिभरपुलले प्रिमियर लिगमा साउहमटनको सामना गर्नेछ ।