स्पेनिस ला लिगा

अराउजोको चोटका कारण बार्सिलोनाको जित छायाँमा

मड्रिड । पियरी इमरिक औबामयाङको दुई गोलप्रेरित बार्सिलोनाले मंगलबार १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको सेल्टा भिगोलाई ३-१ ले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा फराकिलो अग्रता लिएको छ ।

तर रोनाल्ड अराउजोले चोटका कारण मैदान छाड्दा भने बार्सिलोनाको सुखद नतिजा छायाँमा परेको थियो । क्याम्प नोउमा सम्पन्न खेलको ६० औं मिनेटमा गाभीसँग टाउको ठोक्किएपछि मैदानमा लडेका अराउजोलाई  एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो ।

३०औं मिनेटमा मेम्फिस डिपेले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि औबामयाङले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । 

४८औं मिनेटमा औबामयाङले बार्सिलोनाको अग्रता ३-० मा पुर्याएका थिए । त्यसको दुई मिनेटपछि नै सेल्टा भिगोका इयागो आसपसले बललाई जाली चुमाउँदै गोलअन्तर कम गरेका थिए ।

यसै सिजन बार्सिलोनासँगको पहिलो भेटमा ३-३ को बराबरी खेलेको सेल्टा भिगो ५८औं मिनेटमा भने १० खेलाडीमा सीमित भएको थियो । जेइसन मुरिल्लो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि सेल्टा भिगोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

बार्सिलोना ३६ खेलमा ७२ अंकसहित दोस्रो स्थानमा छ । जुन तेस्रो स्थानको सेभिया भन्दा सात अंक बढी हो । सेभियाले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ ।