सहिद स्मारक ‘सी’ डिभिजन लिग

मनोहरा र प्लानिङ ब्वाइजले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र मनोहरा युनाइटेड क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा अजयकुमार चौधरीले ३४औं मिनेटमा गरेको गोलबाट मनोहराले अग्रता लिएको थियो । तर, विशाल दर्जीले इन्जुरी समयमा गोल गर्दै प्लानिङ ब्वाइजलाई खेलमा फर्काएका थिए ।

बराबरीसँगै लिगमा सात खेल खेलेका प्लानिङ ब्वाइजले १३ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको मनोहरा क्लबले १२ अंक जोडेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा सानेपा क्लबले रानिबारी स्पोर्टस् क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।