सहिद स्मारक ‘सी’ डिभिजन लिग

आरसी ३२ लाई डेढ लाख जरिवाना, तीन अफिसियल र तीन खेलाडीलाई प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘सी’ डिभिजन क्लब आरसी ३२ फुटबल एकेडेमीलाई एक लाख ५० हजार जरिवाना र क्लबका खेलाडी र अफिशियलहरुका प्रतिबन्ध लगाएको छ ।

आइतबार ‘सी’ डिभिजन लिगअन्तर्गत पुल्चोक स्पोर्टस् क्लबविरुद्धको खेलपछि रेफ्री र म्याच अफिशियलहरुविरुद्ध अभद्र व्यवहार गरेको भन्दै एन्फाको अनुशासन कमिटिले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष र विदुर रिजाल र प्रविन राईलाई समान एक वर्षको प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धसँगै उनीहरुले एन्फाले अनुमती दिएको कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । यस्तै, आरसी ३२ का अफिसियल सञ्जिव कार्की र टिम व्यवस्थापक अनुप भट्टराईलाई लिगका आगामी खेलमा प्रतिबन्ध गरेको छ ।

यस्तै, अनुशासन कमिटिले आरसी ३२ का प्रतिनिधि रविन चन्दलाई फुटबल गतिविधिबाट एक वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रतिबन्ध सोमबारदेखि नै लागू भएको एन्फाले जनाएको छ ।

लिगअन्तर्गत सोमबारको खेलमा पुल्चोकसँगको २–२ को बराबरीपछि आरसी ३२ का खेलाडी तथा प्रतिनिधि रेफ्री तथा म्याच अफिशियलहरुविरुद्ध हातपातमा उत्रिएको एन्फाले जनाएको थियो ।

यस्तै, अनुशासन कमिटिले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब श्री भगवती क्लबमाथि लगाएको जरिवाना बढाउने निर्णय गरेको छ । अब भगवतीले एक लाख जरिवाना तिर्नु पर्नेछ । यसअघि ‘बी’ डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्धको खेलपछि श्री भगवतीका खेलाडी तथा अफिसियलहरु रेफ्रीमाथि हातपातमा उत्रिएको भन्दै एन्फाले क्लबका अफिसियल राजाराम श्रेष्ठ र विक्रम डंगोलसँगै खेलाडी अनिस श्रेष्ठलाई एक वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना लगाएको थियो ।

कमिटिले ‘बी’ डिभिजन लिगकै अर्को क्लब नयाँबस्ती युथ क्लबमाथिको जरिवाना एक लाख ५० हजारमा घटाएको छ । ‘बी’ डिभिजन लिगअन्तर्गत मध्यपुर युथ एसोसियसनसँग ३–१ पराजित हुँदा नयाँबस्तीका खेलाडी र अफिसियलहरुले रेफ्रीहरुमाथि अभद्र व्यवहार गरेको एन्फाले जनाएको छ । यसअघि एन्फाले नयाँबस्तीलाई तीन लाखको जरिवाना लगाउने निर्णय गरेको थियो ।

यस्तै, अनुशासन कमिटिले नयाँबस्तीका व्यवस्थापक विकाश राईमाथि ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग कमिटिको निर्णयमा भने समर्थन जनाएको छ ।