च्याम्पियन्स लिग

मड्रिडको जितमा आल्भेसको प्रतिकृया, ‘भाग्यभन्दा ठुलो कुरा केही छैन’

मड्रिड । बार्सिलोनाका रक्षक ड्यानी आल्भेसले च्याम्पियन्स लिग सेमिफाइनलमा म्यानचेस्टर सिटीमाथि रियाल मड्रिडको पुनरागमन जितमा प्रतिकृया जनाएका छन् ।

बुधबार सेमिफाइनलको दोस्रो लेगमा ३–१ को जितसहित मड्रिडले सिटीलाई समग्रमा ६–५ को नतिजामा पराजित गर्दै उपाधिका लागि लिभरपुलसँगको भेट पक्का गरेको थियो ।

यसैमा स्पेनिस ला लिगाको चिरप्रतिद्वन्दी क्लब बार्सिलोनाका भेट्रान रक्षक आल्भेसले रियालको जितमा ‘भाग्यभन्दा ठुलो कुरा केही नभएको’ प्रतिकृया दिएका हुन् ।

‘कि खेल खेलाडीमाथि हावी हुन्छ कि त खेलाडी खेलमा, जे भए पनि जीवनमा भाग्यभन्दा ठुलो कुरा केही छैन,’ आल्भेसले भने ।

मड्रिड र लिभरपुलबीच मे २९ मा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीच पछिल्लो पटक सन् २०१८ को फाइनलमा प्रतिस्पर्धा भएको थियो । जहाँ मड्रिडले लिभरपुललाई ३–१ ले पराजित गर्दै १३औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।