प्रशिक्षक-खेलाडी विवाद

खेलाडी-प्रशिक्षक विवादमा एन्फाको लापरबाहीः छानविन समिति बन्ने-नबन्ने नै टुङ्गो छैन

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट निकालिएका खेलाडी र प्रशिक्षकबीच विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले छानविन समिति गठन गरेको चर्चा अर्को फण्डामात्र भएको खुलेको छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधारले खेलाडी-प्रशिक्षक विवाद समाधानका लागि छानविन समिति बन्ने भनेर बुधबार एन्फाले समाचार प्रकाशित गरे पनि यसबारे अझै टुङ्गो नभएको खेलाडीसँग बताए ।

तुलाधरले पहिले खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच समिति गठन गर्नेबारे सहमति बने पनि पछाडि प्रकृया नपुगेको भन्दै समिति रोकिएको बताए ।

‘खेलाडी र अध्यक्ष ज्युको सल्लाहअनुसार पहिले समिति गठन भएको भन्ने जानकारी पाएका थियौं । पछि फेरि प्रकृया नपुगेकोले यो रोकियो । समिति गठनबारेको प्रकृयाहरुका बारेमा छलफल भइरहेको छ । समिति गठन हुने, नहुने अझै टुङ्गो लागेको छैन,’ तुलाधरले भने ।

यसअघि एन्फाले बुधबार आफ्नो आधिकारिक वेभसाइटमार्फत पूर्व खेलाडी तथा नेपाली सेनाका अवकाश प्राप्त मेजर जनरल भिक्टर राणाको संयोजकत्व खेलाडी र प्रशिक्षक विवादबारे छानविन समिति गठन गर्ने भन्दै समाचार प्रकाशित गरेको थियो । तर, त्यसको केही बेरमै यो समाचार एन्फाको पेजबाट डिलिट गरिएको थियो ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै रोहित चन्दसँगै, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले प्रशिक्षण छोडेका बताएका थिए । तर, प्रशिक्षक तथा व्यवस्थापकहरूले सूचना नदिई ‘खेलाडी भागेको’ प्रतिक्रिया दिइरहेका छन् ।

यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानविनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताएका थिए ।