युरोपियन च्याम्पियन्स लिग

च्याम्पियन्स लिगः लिभरपुल फाइनलमा

मड्रिड । मंगलबार भएको दोस्रो लेगमा भियारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । लिभरपुलले समग्रमा ५–२ को जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो ।

बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । ४१औं मिनेटमा फ्रान्सि कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

तर, ६१औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो । यस्तै, ७४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे ।

लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ ।