आइपिएल

गुजरातको दोस्रो हार

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानको गुजरात टाइटन्सले दोस्रो हार बेहोरेको छ । गुजरात मंगलबार राति भएको खेलमा पञ्जाव किङ्ससँग आठ विकेटले पराजित भयो ।

गुजरातले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पञ्जावले १६ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

पञ्जावको जितमा शिखर धवनले अविजित ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ५३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यस्तै, लियम लिभिङस्टोनल अविजित ३० रन बनाउँदा भानुका राजापाक्षेले ४० रन थपे ।

गुजरातका मोहम्मद सामी र लकी फर्गुसनले समान एक विकेट लिए ।  

यसअघि टस जितेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रनको योगफल तयार गरेको थियो ।

गुजरातका साइ सुर्दसनले सर्वाधिक ६५ रन बनाएका थिए । यसबाहेक, रिद्धिमान साहाले २१ रन जोड्दा डेभिड मिलर र राहुल तेवातियाले समान ११ रन बनाएका थिए ।

पञ्जावका कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका रबाडो ३३ रन खर्चिए । यस्तै, अर्सदीप सिंह, ऋषी धवन र लियम लिभिङस्टोनले एक–एक विकेट लिए ।

जितसँगै पाँच खेलबाट १० अंक जोडेको पञ्जाव तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट १६ अंक जोडेको गुजरात भने शीर्ष स्थानमा यथावत् छ ।