आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

एनभिए च्याम्पियनसिप: न्यु डायमन्डलाई पहिलो गाँसमै ढुङ्गा, आर्मी अपराजित

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आइतबारदेखि सुरु भएको एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल  क्लब लिगमा मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ तीन गरी कुल पाँच खेल सम्पन्न भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । 

राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर प्रतिभा मालीबिना नै कोर्टमा उत्रिएको डायमन्डले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसम्मीलित टिम एभरेस्टलाई ३-२ को सेटमा नतिजा सुम्पिँदा प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्यो । 

प्रतियोगितामा पहिलो खेल खेलेको डायमन्डले एक र एभरेस्टले दुई अंक पाएको छ । 

घुँडाको चोटका कारण करिब एक वर्ष कोर्ट बाहिर रहेर कोर्टमा फर्किएपछि प्रतिभाले यो प्रतियोगिताको पाचौं संस्करणको उपाधि जिताएकी थिइन् । तर, गत वर्ष प्रतियोगिताको चाप बढेपछि प्रतिभाले घुँडालाई आराम दिनका लागि यो प्रतियोगिता नखेल्ने बताएकी थिइन् । 

प्रतिभासँगै यसपटक टिमकी मुख्य खेलाडी झरना श्रेष्ठ पनि उपस्थित छैनन् । उनले पारिवारिक कारण देखाउदै भलिबलबाट बिदा लिसकेकी छिन् । जसको कारण डायमन्डलाई अहिले यी दुई खेलाडीको अनुपस्थिती खड्किरहेको छ । 

यस्तै, मंगलबारै भएको महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफले त्रिभुवन आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा हराउँदै पहिलो जित निकाल्यो । 

टिमकी मुख्य खेलाडी सरस्वती चौधरीबिना नै कोर्टमा उत्रिएको एपिएफको यो पहिलो जित हो । एपिएफ र आर्मीले दुई खेलबाट समान तीन अंक जोडेका छन् । आर्मीको यो पहिलो हार हो । 

यसैगरी, मंगलबारै भएको पुरुषतर्फको पहिलो खेलमा साविक विजेता आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५-१२, २५-११, २५-२२ को सोझो सेटमा हराउँदै लगातार तेस्रो जित निकाल्यो । यता, गल्कोटले प्रतियोगितामा लगातार तेस्रो हार व्यहोर्यो । 

सतप्रतिशत नतिजा निकालेको आर्मीले तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेलेको गल्कोट अंकविहीन छ । 

पुरुषतर्फको दोस्रो खेलमा साविक उपविजेता हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हरायो । हेल्प नेपालले गण्डकीमाथी १३–२५, २७–२५, २८–२६, १४–२५, १५–१३ को रोमाञ्चक जित निकालेको थियो । 

यो जितसहित दुई खेलबाट पाँच अंक जोडेको हेल्प नेपाल तालिकाको तेस्रो स्थानमा छ । तीन खेलबाट चार अंक बनाएको गण्डकी चौथो स्थानमा छ । आज पुरुषतर्फको अन्तिम खेलमा पुलिसले ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो ।

पुलिसले ढोरपाटनलाई २५-११, २५-२०, २५-११ को सेटमा हरायो । लगातार दोस्रो जित निकालेको पुलिस ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको ढोरपाटन अंकविहीन छ । 

वैशाख २४ गतेसम्म चल्ने प्रतियोगितामा बुधबार महिलातर्फ दुई र पुरुषतर्फ तीन खेलहरु हुनेछन् । बिहान आठ बजेदेखि सुरु हुने महिलातर्फको पहिलो खेल पुलिस र एभरेस्टबीच हुनेछ । बिहान १० बजे हुने दोस्रो खेलमा डायमन्ड र आर्मी भिड्नेछन् ।

यस्तै, पुरुषतर्फको पहिलो खेल पुलिस र गण्डकीबीच हुनेछ । खेल दिउँसो १२ बजे हुनेछ । दोस्रो खेलमा हेल्प नेपाल र एपिएफ तथा तेस्रो खेलमा आर्मी र ढोरपाटन खेल्नेछन् । खेल क्रमश: दुई बजे र चार बजे हुनेछ ।