स्पेनिस ला लिगा

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

मड्रिड । मेम्फिस डिपे र सर्जियो बुस्केटको समान एक गोलप्रेरित बार्सिलोनाले आइतबार रियाल मालोर्कालाई २-१ ले हराउँदै स्पेनिस ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो पारेको छ ।

घरेलु मैदान क्याम्प नोउमा पछिल्लो चार खेलमा बार्सलोनाको यो पहिलो जित हो ।

२५औं मिनेटमा डिपेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ५४औं मिनेटमा बुस्केटले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । 

खेल सकिन ११ मिनेट बाँकी रहँदा एन्टोनियो राइलोले रियाल मालोर्कालाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । 

बार्सिलोना ३४ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । समान खेलमा तेस्रो स्थानको सेभियाको ६४ र चौथो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक छ ।
समान खेलमा ८१ अंकका साथ शीर्ष स्थानमा बसेको रियाल मड्रिडले शनिबार ला लिगाको उपाधि जितिसकेको छ ।

बार्सिलोना आगामी साता ला लिगामा रियाल बेटिसको भ्रमणमा निस्किनेछ ।