सुपरक्लासिकाे

विश्वकपअघि ब्राजिल र अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्ने

मेलबर्न । विश्वकप खेल्नुअघि ब्राजिल र अर्जेन्टिनाले अस्ट्रेलियामा एक मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

मेलबर्नमा हुने खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेइमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल जुन ११ मा हुनेछ ।

यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत खेलेका थिए । सेप्टेम्बरमा साओ पाउलोमा भएको थियो । सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड १९ क्वारेन्टिन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए । यद्यपि, अर्जेन्टिनी खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो । हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन । यद्यपि, सो खेल पुनः नभएपनि दुवै टिम कतारमा हुने विश्वकपमा छनोट भइसकेका छन् ।

बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले ‘सुपरक्लासिको’ मेलर्बनको क्रिकेट मैदानमा हुने घोषणा गरेको हो । पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान लगाइएको छ ।