एन्फा चुनाव

रौतहट फुटबलमा दर्लामी सर्वसम्मत

चपुर । रौतहट जिल्ला फुटबल संघको बुधबार सम्पन्न साधारण सभाले सर्वसम्मतिमा भगवानबहादुर दर्लामी मगरलाई अध्यक्षमा चयन गरेको छ ।

एन्फा प्रतिनिधि तपेश्वर राउतको पर्यवेक्षणमा पूर्व अध्यक्ष दर्लामीकै नेतृत्वमा १७ सदस्यीय (दुई मनोनितसहित) कार्यसमिति निर्विरोध चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुमन कार्की, भोजराज घिमिरे, महेश चाैधरी चयन हुँदा महासचिवमा मधुसुदन धिताल र कोषाध्यक्षमा सुबाेध गिरी मनोनित भए ।

यस्तै, सदस्यहरुमा नेपाल कार्की, राजकुमार दर्लामी, देवराज कार्की, श्यामलाल थोकर ‘कर्ण’, बुद्धिबहादुर सुवेदी, प्रेमकुमार श्रेष्ठ, प्रकाश चौधरी, मनोज चौधरी, देवबहादुर दर्लामी, सञ्जयकुमार कार्की र महिला सदस्यमा ललिताकुमार चौधरी चयन भए ।

यसअघि, काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुर, खोटाङ, सिरहालगायतका जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेको छ । 

एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त गर्छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।