क्रिस्टियानो रोनाल्डो

लिभरपुलविरुद्ध रोनाल्डोले खेल्ने सम्भावना न्युन

लन्डन । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना अत्यन्तै कम देखिएको छ ।

३७ वर्षीय स्ट्राइकर रोनाल्डोले सोमबार आफ्नो नवजात जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । यसैकारण विक्षिप्त बनेका रोनाल्डो लिभरपुलविरुद्धको खेलमा अनुपस्थित हुन सक्ने केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि, युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिक योर्गेन क्लोपको टिमविरुद्धको खेलमा पाँच पटकका बालन डी अरका विजेता रोनाल्डोलाई टिममा राख्न चाहन्छन् ।

यदि रोनाल्डो युनाइटेडको लागि उपलब्ध भएमा उनले टिमको अग्रपंक्ति सम्हाल्ने निश्चित छ । तर, उनले लिभरपुलविरुद्ध नखेल्ने निर्णय लिएमा रागनिकले जडोन सान्चो र एन्टोनी एलेन्गाको साथमा ब्रुनो फर्नान्डेजलाई सेन्टर फर्वाडबाट खेलाउने छन् ।

युनाइटेडले प्रिमियर लिगको पछिल्लो खेलमा नर्विच सिटीलाई ३–२ ले पराजित गर्दा रोनाल्डोले ह्याट्रिक गरेका थिए । यो सिजन रोनाल्डोले सबैखाले प्रतियोगिता गरी ३४ खेलमा २१ गोल गरेका छन् ।

नर्विचविरुद्धको जितसँगै युनाइटेडले शीर्ष चारमा उक्लिने बलियो सम्भावना बनाएको छ । ३२ खेलमा ५४ अंक जोडेको युनाइटेडले तालिकाको पाँचौं रहँदा खेलबाट ५७ अंक जोडेको टोटनहम तालिकाको तेस्रो स्थानमा छ ।