नेपाली फुटबल

नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालका लागि अर्जेन्टिनी राजदुत डा. ह्युगो जाभियर गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन् ।

मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री अथकले राजदुत गोवीलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेका हुन् । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबिचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलकाे लागि गरेकाे प्रस्तावमाथि राजदुत गोवीले सहमती भएको प्रेस संयोजन संगिन शर्माले जानकारी दिए ।

दुई देशबीच हुने मैत्रीपुर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदुत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्ता समेत दिएको शर्माले बताए ।