इङ्लिस प्रिमियर लिग

मानेको गोलमा लिभरपुलको उपाधि सम्भावना जीवित

लन्डन । साडियो मानेको गोलमा लिभरपुलले आइतबार शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई २-२ को बराबरीमा रोक्दै इङ्लिस प्रिमियर लिगको उपाधि सम्भावना जीवित राखेको छ । 

जनवरीसम्म शीर्ष स्थानको सिटीसँग १४ अंकले पछि परेको लिभरपुलले लगातार १० जितपछि भने सो दुरी अक अंकमा झारेको थियो । 

पाँचौ मिनेटमा केभिन डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो ।त्यसको आठ मिनेटपछि नै डिएगो जोटाले लिभरपुललाई खेलमा फर्काएका थिए । 

३६औं मिनेटमा ग्याब्रियल जिजसको गोलमा सिटीले पुनः अग्रता लिएको थियो । ४६औं मिनेटमा मानेले लिभरपुललाई खेलमा फर्काएका थिए   । 

६३औं मिनेटमा रहिम   स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि भिडियो सहयाक रेफ्री (भिएआर)ले अफसाइड भन्दै सो गोललाई मान्यता नदिँदा पेप ग्वार्डिओलाको टोली निराश बनेको थियो । 

३१ खेलको समाप्तीमा ७४ अंकसहित सिटी शीर्ष स्थानमा यथावत छ । समान खेलमा दोस्रो स्थानको लिभरपुलको ७३ अंक छ । लिगमा अब सात चरणका खेलहरु बाँकी छन् । 

यी दुई टोली शनिबार एफए कपको सेमिफाइनलमा  आमने सामने हुँदैछन् ।

सिटीले यसै साता च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगमा एट्लेटिको मड्रिडको सामना गर्नेछ भने लिभरपुलले बेन्फिकाको सामना गर्नेछ ।