जुडाे

सन्जित र मनिता उत्कृष्ट खेलाडी

काठमाडौं । सन्जित डंगोल पुरुष र महिलामा मनिता श्रेष्ठ प्रधान अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए ।  दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए ।

उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर पुरस्कार दिए । आयोजक नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कृत भए ।

नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

सोही अवसरमा अस्ट्रेलिया बसोवास गर्ने जुडो खेलाडी मोहन बमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेता देवीका खड्का र पुनम श्रेष्ठलाई उपलब्ध गराएको नगद पुरस्कार पनि प्रदान गरिएको थियो । मोहनले जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितमार्फत नगद पुरस्कार उपलब्ध गराएका हुन् । उनले नै खेलाडीलाई समान १५ हजार नगद पुरस्कार हस्तान्तरण गरे । मोहनले प्रतियोगितामा महेन्द्रनगरबाट सहभागी खेलाडीलाई एकतर्फी भाडा स्वरुप ५ हजार रुपैयाँ पनि सहयोग गरेका थिए ।

प्रतियोगिताको अन्तिम दिन आइतबार ७ स्पर्धाको फाइनल भयो । पुरुष ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु पहिलो भए । उनले प्रहरीका मिलन खातीलाई पराजित गरे । ९० केजीमुनि प्रहरीका मनीष महतोले फाइनलमा आर्मीका कपिल सापकोटालाई हराउदै पहिलो स्थान हात पारे । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका रमेश चन्दलाई पाखा लगाए । १०० केजीमाथि प्रहरीका राजन जोशीले फाइनलमा आर्मीका रन्जेश गोलेको चुनौती पन्छ्याउदै शीर्ष स्थानमा रहे ।

नयाँ बजारको खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो र आर्मीकै सरिता श्रेष्ठ दोश्रो भए । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले स्वर्ण जितिन् । फाइनलमा दीपाले आर्मीकी विनिता मगरलाई निराश पारिन् । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले मकवानपुरकी अस्मिता गोलेको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन् ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।