एनएसएल

एन्फा कार्यसमिति बैठक भोलि: एजेन्डामै परेन एनएसएल

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय हो, अखिल नेपाल फुटबल संघ (एन्फा) । र, यसको कार्यसमितिको बैठक नेपाली फुटबललाई मार्गनिर्देशित गर्ने प्रमुख अंक हो । घरेलु फुटबलमा उठेका हरेक विषयलाई छलफलमा ल्याएर निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि एन्फा नेतृत्व नै हो ।

तर, आसन्न एन्फा कार्यसमितिको बैठकमा पछिल्लो समय नेपाली फुटबलको ‘हट–केक’ बनेको नेपाल सुपर लिग (एनएसएल)को बहसले स्थान नपाउनु आश्चर्यजकन देखिएको छ । एन्फाको चुनाव नजिकिँदै गर्दा राजनीतिक विषयले गर्माएको फुटबल जमात अहिले एनएसएल विवादतिर ढल्किएको छ । खेलाडी अनुबन्धन र आयोजनाको विषयलाई लिएर नै विवाद बढ्दै जाँदा स्पष्टरूपमा सहिद स्मारक ए डिभिजन लिग–एनएसएल शीत युद्ध झैँ बनेको छ ।

ए डिभिजन लिगका केही क्लबहरूका संयुक्त प्रेस विज्ञप्ति, पत्रकार सम्मलेनल एनएसएलमै केन्द्रित भएर जारी भइरहँदा पनि एन्फाले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । आसन्न कार्यसमिति बैठकमा पनि यो विषयले स्थान नपाएपछि निकट भविष्यमा आधिकारिक निर्णयको आशा गरिहाल्ने ठाउँ पनि बाँकी छैन । त्यसो त एनएसएलमाथि प्रश्न उठाइरहेका आठमध्ये चार क्लबले खुट्टा झिकेका छन् भने– मनाङ मर्स्याङ्दी, थ्री स्टार, न्युरोड टिम (एनआरटी) र संकटा क्बल विभिन्न माध्यमबाट एन्फा नेतृत्वलाई झक्–झक्याउने कोसिसमा छन् ।

यसै क्रममा चार टोलीले गत आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘फुटबल र खेलाडी दुर्घटनामा’ पर्न सक्ने चेतावनी दिँदै त्यसको कारण एन्फा नबनोस् भन्ने खबरदारी गरेका थिए । असन्तुष्ट क्लबहरूको दबाबकै कारण फागुन २० गते भएको एनएसएलको अक्सन रोक्न एन्फाले पत्र काटेको बताएको थियो । तर, त्यसका बाबजुद अक्सन पूर्व निर्धारित समयमै हुँदा आश्चर्यजनकरूपमा एन्फा कार्यसमितिकै पदाधिकारी पनि त्यहाँ उपस्थित थिए ।

त्यसयता पनि एनएसएलको विषयमा एन्फा उदासीन देखिन्छ । एकातिर एन्फा नेतृत्वसँग असन्तुष्ट पक्षले भने यसलाई निश्चित दायरा बनाएरअघि बढाउनु पर्ने बताएको छ ।

‘एनएसएल यसरी गर्ने भन्ने कार्यसमतिबाट निर्णय भएको छैन,’ एन्फा कार्यसमिति सदस्यले भने, ‘कसैले मौखिक हिसाबले चलाउने भए कार्यसमिति किन चाहियो ?’

यद्यपि, एनएसएल नै हुनु हुँदैन भन्ने आफूहरूको धारणा नरहेको उनले बताए ।

‘नेपालमा एनएसएल हुनुपर्छ’ उने भने, ‘तर, यसरी हुने, यो प्रक्रियाबाट हुने भन्ने निर्णय कार्यसमितिबाट हुनुपर्छ ।’

त्यति मात्रै नभएर एनएसएलको हैसियत पनि निर्धारण गरिनु पर्ने ती सदस्यले बताए । ‘नेपाली फुटबललाई यहाँसम्म आइपुग्न योगदान गर्ने क्लबहरू र मोफसलका प्रतियोगितलाई नै प्रभावित बनाएर एनएसएल गर्ने कुरामा म सहमत छैन,’ खेलाडीसँग उनले भने, ‘भोलि हुने कार्यसमिति बैठकमा यो विषय समावेश हुनुपर्ने हो । यत्रो विवाद भइसकेपछि कार्यसमितिमा ल्याउनु पर्ने हो ।’

यद्यपि, एन्फा महासचिव इन्द्रमान तुलाधरले भने भोलि बस्ने बैठकको एजेन्डा यसअघि नै तय भएकाले चुनावी विषय मात्रै राखिएको बताए ।

‘यसअघिको बैठकमा आगामी बैठकमा चुवानी एजेन्डा मात्रै समावेश गर्ने भन्ने सहमति भएको थियो,’ उनले खेलाडीसँग भने, ‘यद्यपि, एनएसएलको जल्दोबल्दो विषय भएकाले त्यसमा पनि छलफल हुने सम्भावना छ ।’

कार्यसमितिको एजेन्डामै समावेश नभए पनि यो विषयले छलफलमा स्थान पाउला भन्ने आशा राखेको थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकारले बताए ।

‘बैठकाका लागि काटेको पत्रमा हाम्रो विषय राखेको छैन भन्ने सुनेको हो,’ उनले खेलाडीसँग भने, ‘हामीले अनुरोध गरेका छौं । सम्बोधन होला भन्ने आशा छ । यत्रो ठूलो विषय उठेकाले छलफल होला, बैठकमा जाने पदाधिकारीले कुरा उठाउनु होला भन्नेमा आशावादी छौं ।’

छलफलप्रति आशावादी रहेको बताउँदै महासचिव शिल्पकारले छलफल र सहमतिबाटै सबै कुरा ठीक हुने विश्वास पनि व्यक्त गरे ।