अल नेपाल राष्ट्रव्यापी मुवाँथाई

मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि सुरु हुने

काठमाडौं । अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ ।

नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ दुई गरी १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

दक्षिणकालीको फर्पिङमा हुने प्रतियोगितामा चार प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा प्रोफेसनल फाइट पनि हुने कक्षपतिले बताए ।

दुई दिनसम्म सञ्चालन प्रतियोगितामा उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

मंगलबार भएको पत्रकार सम्मेलनमा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले मुवाँथाईको राष्ट्रिय प्रतियोगिता हुनु गर्वको विषय भएको बताउँदै नगरपालिकाले खेलाडी र खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

यस्तै, नगरपालिकाका उपमेयर बसन्ती डंगोलले खेलाडीको स्तरबृद्धि गर्न प्रतियोगिता नियमित रुपमा आयोजना हुनु पर्नेमा जोड दिए ।