सुमन लामा

सुमनले छाडे नेपाल पुलिस क्लब

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् ।

सुमनले सहिद स्मारक ‘ए’ डिभिजन लिग लगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रिया समेत पूरा भएको खेलाडीलाई  बताए ।

‘पुलिस क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरेँ,’ २६ वर्षिय सुमनले भने ।

२०७३ सालबाट पुलिसको जागिरे बनेका सुमनले २०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए ।

फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगदौरान मैदानमा नौ सय ३१ मिनेट (इन्जुरी समय बाहेक) बिताउँदै चार गोल गरेका सुमनले लिग जारी रहँदा विवाह गरेका थिए ।

पुलिस छाडेलगत्तै उनलाई मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी लगायत टोलीले मोफसलका प्रतियोगिता खेल्न प्रस्ताव गरे पनि केहि समय आराममा बस्ने उनले बताए ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि भने सुमनलाई साविक विजेता काठमाडौं रेजर्सले अनुबन्धित गरेको छ ।

अक्सनमा बिक्री नभएका ‘ए’ श्रेणीका सुमनलाई काठमाडौंले विस लिष्टबाट क्लब भित्र्याएको हो । गत वर्ष एनएसएलको पहिलो संस्करणमा भने सुमनले बुटवल लुम्बिनीबाट खेलेका थिए ।

सन् २०१६ मा बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्ध खेल्दै ‘डेब्यु’ गरेका सुमनले राष्ट्रिय टोलीबाट २२ खेलेका छन् ।