इङ्लिस प्रिमियर लिग

लिड्समा मार्सको यात्रा हारसँगै सुरु

लेस्टर । लिड्स युनाइटेडको प्रशिक्षकका रुपमा जेसी मार्सको पहिलो खेल लेस्टरमा १-० को हारसँगै टुंगिएको छ ।

भ्रमणकारी टोली लिड्सले खेलमाथि प्रभाव जमाए पनि अग्रता लिन भने सकेन । ६०औं मिनेटमा राफिन्हाको प्रहार लेस्टरका गोलकिपर कास्पर स्माइचेलले मुस्किलले जोगाउँदा भ्रमणकारी टोली निराश बन्नुपर्यो ।

त्यसको सात मिनेट नबित्दै हार्भी बार्नसले साँघुरो एंगलबाट गरेको गोलमा घरेलु टोली लेस्टरले खेलमा अग्रता लियो । त्यही गोल निर्णायक बन्दा पाएको जितपछि ब्रेन्डन रोजर्सको टोली २५ खेलमा ३३ अंक बटुल्दै १२औं स्थानमा उक्लिन सफल भयो ।

पराजित लिड्स युनाइटेड भने रेलिगेसन क्षेत्रसँगको दुरी फराकिलो पार्ने मौकामा चुक्यो । रेलिगेसन क्षेत्रभन्दा दुई अंकको दुरीमा रहेको लिड्स १६औं स्थानमा छ ।

लगातारको कमजोर नतिजासँगै रेलिगेसनको दबाब बढ्न थालेपछि लिड्सबाट बर्हिगमित भएका मार्सेलो विएल्साको ठाउँ लिएका मार्सले पनि टोलीलाई विजयी लयमा फर्काउन सकेनन् ।

तथापि आफूहरु जितको प्रष्ट हकदार भएको र त्यो हासिल गर्न नसक्दा अत्यन्तै निराश भएको मार्सले बताए ।

‘खेलपछि मैले खेलाडीहरुको अनुहारमा हेरेँ । उनीहरु सबैजना हकलाग्दो जितबाट विमुख भएकोमा अत्यन्तै निराश थिए,’ मार्सले भने, ‘हामीले खेलमा विपक्षीको तुलनामा बढि बल नियन्त्रण गरेका थियौं । राम्रा अवसरहरु सिर्जना पनि गरेका थियौं । तर दूर्भाग्यवश नतिजा हात पार्न सकेनौं ।’

इङलिस प्रिमियर लिगमा शनिबार राति नै भउका अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनमाथि ४-० को जित हासिल गर्दा न्युक्यासलले ब्राइटन एन्ड होभ आल्बियनलाई २-१ को नतिजामा हरायो ।

यसैगरी ब्रेन्टफोर्डले पुछारको नर्विचलाई ३-१ को नतिजामा निराश पार्दै रेलिगेसनको दबाब कम गर्दा क्रिस्टल प्यालेसले उल्भरह्याम्पटनलाई २-० ले हरायो ।