स्पेनिस ला लिगमा

बिल्बाओमाथि बार्सिलोनाको सहज जित

मड्रिड । ओसामाने डेम्बेलेले स्पेनिस ला लिगमा यस सिजनै पहिलो गोल गर्नुका साथै दुई गोलका लागि असिस्ट गरेको खेलमा  आइतबार बार्सिलोना एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै चौथो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको २५ खेलमा ४५ अंक रहेको छ । समान खेलमा समान अंक रहे पनि एट्लेटिको मड्रिड भने पाँचौ स्थानमा झरेको छ । बार्सिलोना तेस्रो स्थानको रियाल बेटिस भन्दा मात्र एक अंकले पछि छ । बार्सिलोनाले रियाल बेटिस भन्दा एक खेल कम खेलेको छ । 

आठौं स्थानको बिल्बाओको २६ खेलबाट ३७ अंक रहेको छ । 

डेम्बेले र बार्सिलोनाबीचको सम्झौता यसै सिजनको अन्त्य सम्म मात्र कायम छ । डेम्बेलेले सम्झौता नविकरण गर्न अस्विकार गरेपछि क्लबको बोर्डका साथै समर्थक उनीहसँग निराश भएका थिए ।

३७औं मिनेटमा पियरे इमरिक औबामयाङले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । 

७३औं मिनेटमा डेम्बेलेले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । उनी ६७औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान प्रवेश गरेका थिए ।  ९०औं मिनेटमा डी जोङले बार्सिलोनाको अग्रता ३-० मा पुर्याएका थिए । 

इन्जुरी समयको चौथो मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाका लागि चौथो गोल गरेका थिए ।