सहिद स्मारक ‘ए’ डिभिजन लिग

फ्रेन्ड्सले १२औं स्थानमा लिग टुंगायो

काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा बराबरी खेल्दै अंक बाढेका छन् ।

बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् ।

बराबरीसँगै फ्रेन्ड्सले १२औं स्थानमा रहेर लिग टुंगाएको छ । १३ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स एक खेल अघि रेलिगेशन जोनबाट बचेको थियो ।

यता, शेर्पा भने १३ खेलबाट १४ अंक सहित नवौं स्थानमा छ । शेर्पाको स्थान टुंगो लागेको छैन । नेपाल पुलिसको खेल पछि शेर्पा र पुलिस दुबैको स्थान पक्का हुनेछ ।

खेलको ८७औं मिनेटमा फ्रेन्ड्सका श्याम बाबु क्यापछकीले गोल गर्दै अग्रता दिलाए । तर दुई मिनेट नवित्दै शेर्पाका विशोन गुरुङले बराबरी गोल फर्काए ।

आज नै सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई १–० अन्तरले पराजित गर्यो ।

यस सिजनको लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको छ भने ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब दोस्रो डिभिजनमा घटुवा भएका छन् ।