च्याम्पियन्स लिग

युनाइटेड हारको संघारबाट जोगियो

मड्रिड । वैकल्पिक खेलाडी एन्थोनी इलाग्नाले गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा एट्लेटिको मड्रिडसँग हारको संकट टारेको छ ।

पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ को बराबरी खेलेका हुन् ।

एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियानोमा सम्पन्न खेलको सातौ मिनेटमा याओ फेलिक्सको गोलमा डिगोको सिमोनीको टोलीले अग्रता लिएको थियो । 

युनाइटेडले पहिलो हाफमा एट्लेटिकोको पोस्टमा सम्झनलायक कुनै पनि प्रहार गर्न सकेको थिएन । ८०औं मिनेटमा इलाग्नाले युनाइटेडलाई खेलमा फर्काएका थिए । उनी ७५औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।

दोस्रो लेग मार्च १५ मा युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

एट्लेटिकोले च्याम्पियन्स लिगअन्तर्गत घरेलु मैदानमा सम्पन्न पछिल्लो सात खेलमा जित हात पार्न सकेको छैन । सातमध्ये चार खेल बराबरीमा सकिएको छ भने तीन खेल बराबरीमा टुङगिएको छ । 

एट्लेटिकोले शनिबार स्पेनिस ला लिगामा सेल्टा भिगोको सामना गर्नेछ भने युनाइटेडले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डको सामना गर्नेछ । 

त्यस्तै बुधबार सम्पन्न अर्को खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा आयाक्स बेन्फिकासँग २-२ को बराबरीमा रोकिएको छ ।

१८औं मिनेटमा डुसान टाडिचको गोलमा आयक्सले अग्रता लिएको थियो । २६औं मिनेटमा आयाक्सका सेबास्टियन हालरको आत्मघाती गोलमा बेन्फिका खेलमा फर्कियो ।

त्यसको तीन मिनेटपछि हालरले गोल गर्दै आयाक्सलाई पुनः अग्रता दिलाएका थिए । ७२औं मिनेटमा रोमान यारेमचुकले गरेको गोलमा बेन्फिका हारबाट जोगियो ।