सहिद स्मारक ‘ए’ डिभिजन लिग

बिबिसीलाई रेलिगेशन क्षेत्रबाट माथि उठ्ने अन्तिम अवसर

काठमडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोली मध्ये एक टोलीको टुङगो लागिसकेको छ ।

रेलिगशेन ब्याटलका रुपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा भएको थियो ।

च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगशेन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेशनको डरमा  रहेको जावाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइजमध्ये एक टोली रेलिगेशनमा पर्ने भएका हुन् ।

सोमबार सातदोबाटोसँग पराजित भएमा बिबिसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त हुनेछ । सातदोबाटोसँग अंक बाँडेमा भने बिबिसीको ‘ए’ डिभिजना रहिरहने झिनो सम्भावना कायम रहनेछ । 

तर प्रदर्शन र नतिजा हेर्ने हो भने सातदोबाटो बिबिसीमाथि हाबी हुन सक्छ । पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरेको सातदोबाटोले आफूलाई यस लिगको जायन्टकिलरको रुपमा स्थापित गर्ने क्रममा मनाङ, थ्री स्टार र नेपाल पुलिस क्लबलाई हराइसकेको छ । 

सातादोबाटो ११ खेलमा १५ अंकसहित सातौ स्थानमा छ । सातादोबाटोका प्रशिक्षक मेघराज केसी आफूहरुको लक्ष्य राम्रो स्थानमा रहेर सिजनको अन्त्य गर्ने भएकाले अन्तिम दुई खेलमा शतप्रतिशत जित हात निकाल्ने बताउछन् ।

‘हामी यो लिग राम्रो स्थानमा बसेर सकाउन चाहान्छौ,केसीले भने,’त्यसैले पहिलो खेलबाट हामीले जुन रणनिती लिएका थियौ, जुन लयमा थियौ , अन्तिम दुई खेलमा पनि त्यो कायम नै रहनेछ । '

१२औं स्थानको फ्रेन्डसको १२ खेलमा १० अंक छ भने १३औं स्थानको बिबिसीको ११ खेलमा सात अंक रहेको छ ।

अन्तिम खेलमा फ्रेन्डसले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ भने बिबिसीले थ्री स्टार क्लबको समना गर्नेछ ।

बिबिसीलाई ‘ए’ डिभिजनमा रहिरहन सोमबार सातदोबाटोमाथिको जित पनि पर्याप्त नहुन सक्छ । त्यसका लागि बिबिसीले १३औं चरणमा हिमालयन शेर्पासँग फ्रेन्डसको हारको कामना गर्नुपर्नेछ र अन्तिम खेलमा पनि थ्री  स्टारविरुद्ध कम्तीमा एक अंक जोड्नु पर्नेछ । 

बिबिसीका प्रशिक्षक सानोज श्रेष्ठले भने १० औं चरणमा फ्रेन्डसलाई नतिजा सुम्पिएपछि टोली रेलिगेशनको दबाबमा आएको बताउँछन् ।

‘हामीले फ्रेन्डसलाई नतिजा सुम्पियौ, त्यसले टोलीमाथि रेलिगेशन दबाब बढेका हो’, श्रेष्ठल भने, ‘हामी अन्तिम दुई खेलमा ६ अंक लिँदै सो संटक टार्न चाहान्छौ । हामीले तुलनात्मक रुपमा बलियो टोलीविरुद्ध खेल्दैछौ । तर हाम्रो टोली पनि राम्रो भएकाले सुखद नतिजाको आशमा छु ।’