सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा शेर्पाविरुद्ध जावलाखेल १–० ले अगाडि

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणअन्तर्गत हिमालयन शेर्पाविरुद्ध जारी खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १४औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिएका थिए । उनले कर्नरमार्फत प्रहार गरेको बल सोझै गोलमा परिणत भएको थियो ।

त्यसअघि १३औं मिनेटमा निकोलस फर्नान्डेजले प्रहार गरेको बल गोल नजिक पुगेको थियो । फर्नान्डेजले बक्स भित्रबाट गरेको प्रहारमा शेर्पाका गोलकिपर दीप कार्की बिट भइसकेका थिए । तर, शेर्पाका डिफेन्डर अम्रित श्रेष्ठले गोललाइन नजिकबाट क्लियर गरेका थिए ।

शेर्पाका त्रिदेवले २०औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार सोझै जावलाखेलका गोलकिपर टेकेन्द्र थापाको हातमा परेको थियो । फर्नान्डेजको कर्नरमा लोइक इन्जिनिले ३३औं मिनेटमा प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

११ खेलबाट १० अंक जोडेको जावलाखेल रेलिगेसनबाट जोगिनका लागि आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अहिले ११औं स्थानमा रहेको जावलाखेलले अग्रता बचाउन सके करिब करिब रेलिगेशनबाट जोगिने छ । यस्तै, समान खेलबाट १३ अंक जोडेको शेर्पा लिग तालिकाको नवौं स्थानमा छ ।