इङ्लिस प्रिमियर लिग

सलाह गर्वान्वित

लन्डन । फरवार्ड मोहम्मद सलाहले लिभरपुलका लागि एक सय ५०औं गोलको कोशेढुङ्गा पार गर्नु आफ्नो लागि गौरवान्वित क्षण भएको बताएका छन् ।

‘पक्कै पनि, लिभरपुलबाट एक सय ५० गोल गर्दा निकै खुसी र गौरवान्वित छु । म क्लबबाट गोल गर्न सक्दा सधैँ खुसी हुन्छु,’ २९ वर्षिय इजिप्शियन फरवार्ड सलाहाले भने, ‘तर, व्यक्तिगत गोलभन्दा पनि टोलीको जित महत्वपूर्ण कुरा हो । जसलाई आज हामीले पूरा गर्यौं ।’

सलाहले लिभरपुलबाट खेलेको दुई सय ३३ खेलमा एक सय ५०औं गोलको कोशेढुङ्गा पार गरे । सलाह सन् २०१७ मा रोमाबाट लिभरपुल अनुबन्धित भएका थिए ।

सलाह लिभरपुलका लागि सबैभन्दा कम खेलमा एक सय ५०औं गोलका कीर्तिमान छुने दोस्रो खेलाडी हुन् । यो कीर्तिमानको शीर्ष स्थानमा लिभरपुलका पूर्व स्टार रोजर हन्ट छन् । हन्टले दुई सय २६ खेलमा एक सय ५०औं गोलको कोशेढुङ्गा पार गरेका थिए ।