सहिद स्मारक ‘ए’ डिभिजन लिग

शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै मछिन्द्र

काठमाडौं । स्ट्राइकर विमल घर्तिमगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।


मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्र्याङदी भन्दा चार अंक बढी हो । 

५६औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । 

खेल सकिन ६ मिनेट बाँकी रहँदा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रको अग्रता बढाएका थिए । र, इन्जुरी समयमा अभिषेक रिजालले गाेल गर्दै मछिन्द्रकाे फराकिलाे जित निश्चित गरे ।

ब्रिगेड ब्वाइज भने ९ खेलमा ६ अंकसहित १२ औं स्थानमा छ । 

यसअघि नवौ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । 

१५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।
२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । 
त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो ।

४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए 

च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ ।