जर्मनीको दबदबा रोक्न सफल होला इङ्ल्यान्ड ?

म्युनिख, (खेलाडी)- विश्‍व फुटबलमा इङल्यान्ड र जर्मनीबीच पुरानो प्रतिद्वन्द्वीता छ । जहाँ जर्मनीले मुख्य प्रतियोगिताका नकआउट चरणमा ५५ वर्ष देखि निरन्तर दबाब बनाइराखेको छ । के इङल्यान्डले जर्मनीको नकआउट चरणको दबदबामा युरोपियन च्याम्पियनसिप (युरो २०२०) को अन्तिम १६ मा पूर्णविराम लगाउला ?

समूह ‘डी’ बाट विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको इङ्ल्यान्डले क्‍वार्टरफाइनलमा स्थान सुरक्षित गर्नका लागि समूह ‘एफ’को उपविजेतासँग खेल्नु पर्ने समिरकण थियो । समूह ‘एफ’मा विश्‍व विजेता फ्रान्ससँगै युरोको साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी थिए । 

समूह चरणको अन्तिम खेलमा फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले समान २-२ को बराबरी खेले । अन्तिम खेलपछिको अंक तालिका अनुसार फ्रान्स ५ अंकका साथ समूह विजेता बन्दा जर्मनी ४ अंकका साथ उपविजेता  बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो । गत संस्करणमा तेस्रो स्थानमा बस्‍ने टोली मध्ये उत्कृष्‍ट ४ मा पर्न सफल पोर्चुगल यस संस्करणमा पनि पूरानै बाटोबाट नकआउट चरण प्रवेश गर्‍यो ।

जर्मनी उपविजेता बनेसँगै यी पुराना प्रद्वन्द्वीबीचको भिडन्त पक्का भएको हो । वेम्बलीमा मंगलबार हुने खेलमा गारेथ साउथगेटको टोली जर्मनीको दबाब चिर्दै क्‍वार्टरफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । 

‘अब हामी इङ्ल्यान्ड भ्रमण गर्छौ,’ जर्मनीका प्रशिक्षक जोचिम लोउले भने, ‘वेम्बलीमा इङल्यान्डविरुद्ध खेल्नु सुखद र रोचक समिकरण हो । जुन सम्भवत युरो २०२० कै सवैभन्दा व्यग्र प्रतिक्षा गरिएको महाभिडन्त बन्‍न सक्छ ।’ 

सन् १९६६ मा इङल्यान्डले अतिरित्त समयमा जर्मनीलाई नै हराउदै घरेलु मैदानमा विश्‍वकपको उपाधि जितेको थियो । त्यसपछि  इङल्यान्ड र जर्मनी ४ पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा भेट भएका छन् । जसमा ४ पटक नै जर्मनीले बाजी मारेको छ । 

वेम्बलीमा भएको १९९६ को युरो सेमिफाइनलमा साउथगेटले जर्मनीविरुद्ध निर्णायक पेनाल्टी गुमाएका थिए । युरो २०२० मा इङल्यान्ड साउथगेटकै प्रशिक्षणमा खेलिरहेको छ । इटालीमा भएको सन् १९९० को विश्‍वकप फुटबलमा पनि जर्मनीले इङल्यान्डलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमै निराश बनाएको थियो । 

समग्रमा यी दुई टोली ३६ पटक आमने सामने भएका छन् । जहाँ इङ्ल्यान्डले १६ र जर्मनीले १३ खेल जितेका छन् । ७ खेल भने बराबरीमा सकिएको छ  । प्रमुख प्रतियोगिताका नकआउट भिडन्तमा जर्मनी सधै इङल्यान्डमाथि भारी हुदै आएको छ । सन् १९६६ को विश्‍वकपमा हात पारेको जित इङल्यान्डले जर्मनीमाथि मुख्य प्रतियोगिताको नकआउट चरणमा हात पारको एक मात्र जित हो ।

‘इङ्ल्यान्डविरुद्ध वेम्बलीमा हुने भिडन्त, यो जतीको रोमाञ्‍चक भिडन्त अरु हुनै सक्दैन,’ जर्मनीका रक्षक जोसुवा किमिचले भने ।