रोनाल्डो र मेसी यो दुनियाका होइनन : अर्नाटोभिच

लन्डन, (खेलाडी) -अस्ट्रियाका स्टार मार्को अर्नाटोभिचले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रशंसा गर्दै उनीहरु यो विश्‍वका नभई सबै उपाधिहरु आफूसँग लैजान अर्कै ग्रहबाट यहाँ आएको बताएका छन् ।

क्लब र देशका लागि गरेको प्रदर्शनका आधारमा रोनाल्डो र मेसीलाई विश्‍व फुटबल इतिहासकै सर्वोत्कृष्‍ट खेलाडीका रुपमा मानिन्छ । 

पोर्चुगल र युभेन्टसका सुपपरस्टार रोनाल्डोले पाँच पटक बालन डी अर जित्‍नुका साथै ३२ वटा मुख्य उपाधि जितेका छन् । जारी युरो २०२० अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्‍व च्याम्पियन फ्रान्ससँग २-२ को बराबरी खेल्दा दुवै गोल गरेपछि रोनाल्डोले १ सय ९ गोलका साथ अन्तर्राष्‍ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने अली दाईको कीर्तिमानसँग बराबरी गरेका छन् । 

यस्तै सर्वाधिक ६ पटक बालन डी अर जितेका मेसीले बार्सिलोनाबाट कीर्तिमानी ३४ वटा उपाधि जितेका छन् । जारी कोपा अमेरिकाअन्तर्गत समूह चरणमा पाराग्वेमाथि १-० को जित हासिल गरेको खेलसँगै उनले अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्‍ट्रिय खेल खेल्ने हाभियर मास्चेरानोको कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

युरो २०२० को अन्तिम १६ मा शनिबार इटालीसँग खेल्ने तयारीमा रहँदा अस्ट्रियाका अर्नाटोभिचले रोनाल्डो र मेसीको प्रशंसा गरे । 

‘क्रिस्टियानो रोनाल्डोको वारेमा कुरा गर्दा दिमागमा उनको छवि एउटा मानिसको जस्तो आउँदैन । कुरा यही हो । मैले भन्‍न खोजेको उनी कुनै एलियन जस्तो छविका साथ प्रस्तुत हुन्छन्,’ अर्नाटोभिचले भने, ‘खासमा रोनाल्डो र मेसी यो दुनियाकै होइनन । यी दुई धेरै टाढाबाट यहाँ हरेक लिगमा सफल हुन र सबैखाले उपाधि आफूसँग लैजान आएका हुन् । उनीहरु त्यो सफलता हासिल गरिसकेपछि यहाँबाट विदा हुन्छन् । रोनाल्डो र मेसी भनेका त्यही हुन् ।’

युरोपियन च्याम्पियनसिपमा अस्ट्रियाले नकआउट चरणमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । १९५४ को विश्‍वकपपछि सबैखाले मुख्य प्रतियोगिताको नकआउट चरणमा यो उनीहरुको पहिलो सहभागिता हो । १९५४ मा भने उच्च प्रदर्शनका साथ टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 

सबैखाले प्रतियोगितामा गरी लन्डनमा खेलेका ६ खेलमध्ये अस्ट्रियाले चारमा हार भोगेको छ । एक खेल जितेको टोलीले अर्को खेलमा बराबरी नतिजा निकालेको थियो । १९७३ को सेप्‍टेम्बरमा इङ्ल्यान्डसँग मैत्रीपूर्ण खेलमा ७-० को हार भोगेपछि अस्ट्रियाले लन्डनमा खेल्न लागेको यो पहिलो पटक हो ।