नेपाली क्रिकेट टिमको प्रशिक्षण स्थगित

काठमाडौं, (खेलाडी)- नेपाली राष्‍ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज शनिबारबाट स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

स्पेनमा हुने भनिएको आइसिसी विश्‍वकप क्रिकेट लिग २ स्थगित भएपछि क्यानले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको हो । 

नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित त्रिदेशीय शृंखला स्पेनमा हुने तय भएपछि क्यानले गत मंगलबारबाट २० खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण शुरू गरेको थियो । तर नामिबियामा कोभिड १९ संक्रमण उच्च अवस्थामा रहेका कारण तयारी गर्न नपाएको तथा भ्रमणमा रोक लगाएका कारण खेल स्थगित भएको थियो ।  

नेपालले प्रतियोगिता स्थगित भएको भन्दै औपचारिक तयारी रोके पनि स्वअभ्यास भने जारी रहने बताइएको छ । खेलाडीहरुको सानो समूह बनाएर कोभिड १९ प्रोटोकल पालना गर्दै त्रिवि मैदानमा प्रशिक्षक डेभ ह्‍वाटमोर र फिजियो विक्रम न्यौपानेले अभ्यास जारी राख्‍ने जनाइएको छ । 

प्रतियोगितामा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकाविरुद्ध ४ खेल खेलिसकेको छ । चार खेलमा चार अंक जोडेको नेपाल छैटौं स्थानमा छ । १० खेलबाट १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

यसअघि ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको शृंखला पनि कोभिड १९ कै कारण स्थगित भएको थियो ।