सहिद स्मारक ‘ए’ डिभिजन लिग

च्यासलमाथि आर्मीको सहज जित

काठमाडौं । च्यासल युथ क्लबमाथि २-० को सहज जितसहित त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

चार खेलमा दुई जित र दुई बराबरीको नतिजापछि आठ अंकसहित आर्मी दोस्रो स्थानमा उक्लिएको हो ।समान खेलमा १० अंक जोडेको मनाङ मस्र्याङदी क्लब शीर्ष स्थानमा छ । 

१९औं मिनेटमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । मिडफिल्डर टंक बस्नेतको पासलाई जर्ज प्रिन्सले हेडरमार्फत जाली चुमाएका थिए । 

३६औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा अनमार्क रहेका जगजित श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए । 

४९औं मिनेटमा गौतमको क्रममा जर्ज प्रिन्सले गरेको हेडर बारमा लागेर फर्कदा आर्मीले अग्रता बढाउने अवसर गुमाएको थियो ।

चार खेलमा एक जित, एक बराबरी र दुई हारपछि च्यासलकोे चार अंक छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको पहिलो खेलमा मनाङले फ्रेन्डस क्लबलाई २-० ले हराएको थियो ।