सहिद स्मारक लिग

सहिद स्मारक लिग : पहिलो चरणमा थ्री स्टार र मछिन्द्रको राम्रो लय

काठमाडौं । साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) माथि जितसहित उपाधि रक्षा अभियानको सुरुआत गरेसँगै सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण सकिएको छ ।

मंसिर तीन गतेदेखि सुरु भएको लिगको पहिलो चरणमा सात खेल भए । सहभागी सबै १४ टोलीले पहिलो खेल खेल्दा थ्री स्टार क्लबले सबभन्दा स्पष्ट जित हासिल गर्यो भने नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबको सुरुआत सुखद बन्न सकेन ।

पहिलो चरणमा चार टोलीले जितसहित तीन अंक बटुल्दा ६ टोलीले बराबरीसहित एक अंक आफ्नो खातामा जोडे । बाँकी चार टोलीले भने पहिलो खेलमा पराजय बेहोरे ।

पहिलो चरणका सात खेलमा कुल १६ गोल भए । यसमा १० टोलीले गोल गर्दा चार टोलीले गोलको खाता खोल्न सकेनन् ।

लिगमा थ्री स्टार र ब्रिगेड ब्वाइजले समान तीन, एनआरटी, मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस, हिमालयन शेर्पा र संकटाले एक-एक गोल गर्दा सातदोबाटो, फ्रेन्ड्स, च्यासल र जावलाखेलले बललाई जाली चुमाउँन सकेनन् ।

पहिलो चरण समाप्त हुदाँसम्म तीन अंक जोडेको थ्री स्टार तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान अंक रहे पनि गोलआधारमा ब्रिगेड ब्वाइज दोस्रो स्थानमा रहँदा मछिन्द्र तेस्रो र मनाङ चौथो स्थानमा छन् ।

तालिकाको पाँचौ स्थानमा एक अंक जोडेको हिमालयन शेर्पा क्लब छ । एकै अंक जोडेको त्रिभुवन आर्मी फुटबल क्लब छैटौं, नेपाल पुलिस क्लब साताैं, संकटा क्लब आठाैं, फ्रेन्ड्स क्लब नवाैं, र सातदोबाटो युथ क्लब दशौं स्थानमा छन् ।

पहिलो चरणको खेलमा नेपाल एपिएफ क्लब, एनआरटी, जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले अंकको खाता खोल्न सकेनन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोक्नु नवप्रवेशी क्लब सातदोबाटो युथका लागि शीर्ष डिभिजनमा सुखद ‘डेब्यु’ बन्यो ।

दोस्रो दिन शनिबारको पहिलो खेलमा दुई पटकको विजेता संकटा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकियो ।

प्रतियोगिताको पहिलो चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने टोली थ्री स्टार बन्यो । शनिबारको दोस्रो थ्री स्टारले च्यासल युथ क्लबमाथी ३-० को जित दर्ता गर्यो । थ्री स्टारको यो जित पहिलो चरणमा कुनै पनि टोलीले निकालेको फराकिलो जित बन्यो ।

आइतबारको सम्पन्न ब्रिगेड ब्वाइज र एपिएफबिचको खेल पहिलो चरणको रोमाञ्चक खेलको रुपमा रह्यो । विभागिय टोलीमाथी ३-२ को रोमाञ्चक जित निकालेको ब्रिगेड ब्वाइजले तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा आसिन छ ।

आइतबारको दोस्रो खेलमा लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङदी क्लबले जावलाखेल युथ क्लबविरुद्ध १-० साँघुरो जितमा चित्त बुझायो । यद्धपी आठ पटक लिगको उपाधि चुमेको मनाङको लागी उक्त जित तीन अंक जोड्न त्यो पर्याप्त रह्यो ।

सोमबार विभागीय डर्बीअन्तर्गत उपाधि दाबेदार आर्मी अर्को विभागीय टोली नेपाल पुलिससँग १-१ को बराबरीमा रोकियो । खेलमा पुलिसले अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउँनु परे पनि नतिजाले आर्मीको उपाधि यात्रालाई भने नराम्रो धक्का दियो ।

पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्रले एनआरटीविरुद्ध २-१ को कठिन जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीहरुले भरिपूर्ण रहेको मछिन्द्रले उपाधि रक्षा गर्ने यात्रालाई सुखद सुरुआत दियो ।

पहिलो चरणमा सात खेलमा २४ कार्ड निस्किए । जसमध्ये एक रातो र बाँकी २३ पहेलो कार्ड थियो । पहिलो चरणमा फ्रेन्ड्सले सर्वाधिक ६ कार्डको दर्शन गर्यो ।

यस्तै तीन टोलीले समान तीन, तीन टोलीले समान दुई र तीन टोलीले एक/एक पहेलो कार्डको दर्शन गरे । तीन पहेलो कार्ड पाउनेमा थ्री स्टार, मछिन्द्र र जावलाखेल छन् । दुई पहेलो कार्ड पाउनेमा हिमालयन शेर्पा, संकटा र च्यासल रहँदा एनआरटी, सातदोबाटो र पुलिस एक/एक पहेलो कार्डको दर्शन गर्ने टोली बने ।

मछिन्द्रका नवीन श्रेष्ठ पहिलो चरणमा पहेलो कार्डको दर्शन गर्ने पहिलो र एकमात्र अफिसियल बने ।

लिगका चार टोलीले भने पहिलो चरणमा कुनै कार्ड सामना गरेनन् । कार्ड सामना नगर्ने टोलीमा त्रिभुवन आर्मी, ब्रिगेड ब्वाइज, एपिएफ र मनाङ छन् ।

पहिलो चरणको एकमात्र रातो कार्ड पनि फ्रेन्ड्सका विदेशी खेलाडी रोनेल एन्टोनीले पाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटोविरुद्ध एन्टोनी दुई पहेलो कार्ड पछि रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए ।

लिगको दोस्रो चरणका खेल मंसिर १० गतेबाट सुरु हुनेछ ।