वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

प्रदेश एक २६ रनले विजयी

काठमाडौं । लभ कामतको पाँच तथा दिपेश कडेलको चार विकेटप्रेरित प्रदेश एकले वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशमाथी २६ रनको रोमाञ्चक जित निकालेको छ ।

एक सय ७६ रनको लक्ष्य पछ्याएको बागमतीका तेस्रो विकेटका लागी विपिन साही र विवेक मगरले तेस्रो विकेटका लागी ८६ रनको साझेदारी गर्दा टोलीले सहज जित निकाल्ने देखिएको थियो । तर ४२ रनमा खेलिरहँदा विवेकलाई तेस्रो विकेटको गुमाएपछि लगातार विकेट गुमाएको बागमतीले ३१.५ ओभरमा सबै विकेट गुमाउँनु अघि एक सय ४९ रनमात्र जोड्न सक्यो ।

बागमतीबाट विपिनले ४३ रन जोडे । त्यस्तै विवेकले ४२ रन जोड्दा प्रतिक श्रेष्ठ र तिलक भन्डारीले समान १० रन जोडे ।

प्रदेश एकको जितमा लभ कामतले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका लभले २६ रन खर्चिए । यस्तै दिपेश कडेलले चार र दीपक जोसीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको प्रदेश एकले ४३.३ ओभरमा सबै विकेट गुमाउँनु अघि एक सय ७५ रनको योगफल खडा गरेको थियो ।

प्रदेश एकका दिपक जोसी र लभ कामतले समान ३३ रन बनाएका थिए । त्यस्तै सोनु अन्सारीले ३२ र दिपेश कडेलले २३ रन जोडेका थिए ।

बागमतीका क्रिस कार्की र तिलक भन्डारीले तीन÷तीन विकेट लिदाँ प्रतिश जिसीले दुई तथा गौतम केसी र विवेक मगरले समान एक विकेट हात पारेका थिए ।