वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

मोहम्मद हुसैनको प्रदर्शनमा लुम्बिनीको रवाफ

काठमाडौं । मोहम्मद हुसैनको सात विकेटप्रेरित लुम्बिनी प्रदेशले वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि नौ विकेटको जित हात पारेको हो ।

गण्डकीले प्रस्तुत गरेको २४ रनको झिनो लक्ष्य लुम्बिनीले ५.५ ओभरमा मात्र एक विकेट क्षतीमा पूरा गरेको थियो ।

लुम्बिनीका लागि देव खनालले अविजित १७ र विराट भण्डाारीले अविजित ८ रन जोडे ।

गण्डकीका सुवास भण्डारीले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको गण्डकी १४.२ ओभरमा मात्र २३ रनमा अलआउट भएको थियो ।

गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । यस क्रममा   गण्डकीका ६ खेलाडीले रन खाता खोल्न सकेनन् । 

लुम्बिनीका मोहम्मद हुसैनले सात ओभरमा १४ रन खर्चदै सात विकेट लिए । वासिर अहमद र दुर्गेश गुप्ताले समान एक विकेट लिए ।

प्रतियोगितामा सात प्रदेशका सात टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले मंसिर १९ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

डिसेम्बरमा हुने यु -१९ एसिया कपको खेलाडी छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको आयोजना गरेको हो ।