इङ्लिस प्रिमियर लिग

साेल्सायर बर्खास्त हुनुमा खेलाडी जिम्मेवारः मग्वायर

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायरले प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुनुको जिम्मेवारी खेलाडीहरुले लिनुपर्ने बताएका छन् ।

प्रिमियर लिगअन्तर्गत शनिबार वाटफोर्डसँग ४-१ ले पराजित भएपछि क्लबले आइतबार सोल्सायरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

‘सोल्सायरकोे बर्खास्तगी हाम्रो लागि निकै असहज अवस्था हो । किनभने सोल्सायर प्रशिक्षकमा नियुक्त भएदेखि उनी खेलाडीमाझ निकै सम्मानित थिए,’ मग्वायरले भने, ‘शनिबारको नतिजा राम्रो थिएन, तर त्यसपछि क्लबबाट आएको निर्णय झनै राम्रो थिएन । शनिबारको हाम्रो नतिजाका परिणाम सोल्सायरले भोग्नु पर्यो र यसको जिम्मेवारी क्लबका खेलाडीले लिनुपर्छ ।’

नर्वेका ४८ वर्षिय सोल्सायर सन् २०१८ मा जोसे माउरिन्हो बर्खास्तीमा परेपछि युनाइटेडको जिम्मेवारी पाएका थिए ।