शहिद स्मारक ए डिभिजन लिग

शीर्ष डिभिजनमा सुखद सुरुआताको लक्ष्यमा सातदोबाटो

काठमाडौं, । नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्डस क्लबबीचको खेलसँगै शुक्रबारबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजनबाट सप्ताहान्तमा मात्र लिगका खेलहरु संचालन गर्ने भन्दै दुई चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ । 

त्रिपुरेश्वरस्थित दशरश रंगशालमा हुने उद्घाटन खेल साझ पौने पाँच बजे सुरु हुनेछ । घरेलु लिग फ्लड लाइटमा खेलाइन लागेको यो पहिलो पटक हो ।

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा झण्डै चार दशकको इतिहास बोकेको फ्रेन्डस क्लबको सामना गर्दा सातदोबाटो शीर्ष लिगमा सुखद सुरुआताको लक्ष्यमा हुनेछ ।

सातदोबाटो गत सिजन ‘बी’ डिजिजन विजेताको हैसियतमा शीर्ष डिभिजनमा बढुवा भएको थियो ।

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले शीर्ष डिभिजनमा आफूहरुको पहिलो खेल भएपनि उत्कृष्ट प्रदर्शन गर्दै सुखद सुरुआत गर्नेमा विश्वस्त रहेको बताए ।

‘हाम्रा लागि यो खेल विशेष हुनेछ किनभने हामी पहिलो पटक ‘ए’ डिभिजन खेल्दैछौ,’ मेघराजले भने, ‘हामी यहाँ आफ्नो दरिलो उपस्थिती देखाउन चाहन्छौ । क्लबले खेलाडी अनुबन्धन र अभ्यासमा कुनै कसर बाँकी राखेको छैन । त्यसैले फ्रेन्डसविरुद्ध सुखद नतिजा ल्याउछौ ।’

मेघराजले लिगका एक दुई खेलपछि नै ए डिभिजनका रैथाने क्लबहरुले आफूलाई हेर्ने नजर नै फरक हुने समेत दाबी गरे ।

त्यस्तै फ्रेन्डस क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले सातदोबाटो नयाँ क्लब भएपनि उनीहरुविरुद्ध सर्तक भएर खेल्ने बताए ।।

‘सातदोबाटोलाई हामी कमजोर टोलीको रुपमा लिँदैनौ’,मिश्रले भने, ‘राम्रो तयारी गरेका छौ । हाम्रो यस सिजनको लक्ष्य भनेको रेलिगेशनबाट जोगिने हो । पहिलो खेलबाटै हामी त्यसैका लागि खेल्छौ ।’