सहिद स्मारक ‘सी’ डिभिजन लिग

लगातार दोस्रो जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै आरी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा आरसी ३२ ले बागमती युवा क्लबलाई ३-० ले पराजित गर्यो ।

जितसँगै आरसी ३२ ले दुई खेलमा ६ अंक जोडेको छ । पराजित बागमतीको सामन खेलबाट तीन अंक छ ।

आरसी ३२ लाई जित दिलाउन  विवेक सन्तोषीले दुई तथा बबिन बोहराले एक गोल गरे । खेलको १०औं मिनेटमा बबिनको गोलमार्फत आरसी ३२ ले अग्रता लिएको थियो । 

 विवेकले २८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा विवेकले ब्यक्तिगत दोस्रो गोल गर्दै आरसी ३२लाई ३-० को सहज जित दिलाए ।

सुर्खेतको आरसी ३२ ले पहिलो खेलमा खालीबारी फुटबल क्लबलाई १-० ले हराएको थियो । यसैगरी सर्लाहीको बागमतीले सानेपा क्लबलाई ३-१ ले पराजित गरेको थियो ।