स्पेनिस कोपा डेल रे

बिल्वाओ ४० वर्षपछि च्याम्पियन

काठमाडौं । मायोर्कालाई पेनाल्टी सुटआउटमा  ४-२ ले पराजित गर्दै एथलेटिक्स क्लब बिल्वाओ स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । बिल्वाओले ४० वर्षपछि कुनै पनि उपाधि जितेको हो ।

क्लबले पछिल्लो पटक सन् १९८४ मा उपाधि जितेको थियो । यसबीचमा बिल्वाओले ६ फाइनल खेले पनि उपविजेतामै सिमित बन्नु परेको थियो ।

खेलका २१औँ मिनेटमा ड्यानी रोड्रिग्वेजले मायोर्कालाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा ओइहान सानचेटले बिल्ओलाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।  

पेनाल्टीमा बिल्वाओका लागि राहुल गार्सिया, इकर मुनियान मिकेल भेस्गा र अलेजान्ड्रो बेरेन्गुयर रेमिरोले गोल गरे ।

मायोर्काका लागि वेड्त मुरिकी, एन्टिनियो सान्चेजले गोल गर्दा मानु मोरालेसको प्रहार गोलकिपरले रोके भने नेमान्जा राडोज्निकको प्रहार बाहिरिएको थियो ।

बिल्वाओ २१औं पटक कोपा डेल रेको च्याम्पियन बनेको हो ।