नेपाली फुटबल

राष्ट्रिय टोलीबाट चन्द्रा र सविनाको डेब्यु

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीबाट स्ट्राइकर चन्द्रा भण्डारी र रक्षक सविना चौधरीले डेब्यु गरेका छन् ।  बिहीबार राति भएको इरानविरुद्ध खेलमा प्रशिक्षक राजेन्द्र तामाङले दुबै खेलाडीलाई डेब्यु गराएका हुन् । दुबै खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

प्रशिक्षक तामाङले चन्द्रालाई खेलको ७९औं मिनेटमा अर्की स्ट्राइकर रेखा पौडेलको स्थानमा मैदान प्रवेश गराए । जुन समय नेपाल ४-० ले अघि थियो । रक्षक सविनाले हीराकुमारी भुजेलको स्थानमा मौका पाइन् । उनी ८३औं मिनेटमा मैदान प्रवेश गरेकी हुन् । यससँगै साउदी अरेबिया पुगेका तीनै खेलाडीले डेब्यु पाएका छन् ।

सिरियाविरुद्ध पहिलो खेलमा मिडफिल्डर सर्मिला हमाल रेखाकै स्थानमा डेब्यु गरेकी थिइन् । प्रशिक्षक तामाङले तीनै खेलाडीलाई अनुभव दिलाउन टोलीमा समावेश गरेका थिए । 

नेपाल वाफ महिला च्याम्पियनसिप २०२४ मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा सिरियाविरुद्ध ४-१ र दोस्रो खेलमा इराकविरुद्ध ५-० को जित निकालेको हो । इराकविरुद्ध खेलसँगै स्ट्राइकर सावित्रा भण्डारीले कीर्तिमानी अन्तर्राष्ट्रिय गोलसंख्या ५० पुर्याएकी छिन् ।

शनिबार हुने समूह ‘बी’ को अन्तिम खेलमा नेपालले दोस्रो स्थानमा रहेको प्यालेस्टाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

महिला फुटबलको ३८ वर्षे इतिहासमा नेपाल पहिलो उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको  छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपालले यसअघि १० पटक फाइनल खेलेर पनि उपाधिविहिन हुनु परेको थियो । नेपाल साउदीमा ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा छ ।