नेपाली फुटबल

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका !

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोटअन्र्तगत बहराइनसँग हुने खेल दशरथ रंगशालामा हुनेमा आशंका बढेको छ ।

पछिल्लो समय दशरथ रंगशालाको दुबो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको छ । उसले मैदानमा अवस्था यही रहे नेपालमा नखेल्ने एएफसीलाई जानकारी गराइसकेको छ ।

बहराइनका प्रतिनिधि केही दिन अघि नेपाल आएर मैदान निरिक्षण गरेका थिए । ‘बहराइनले एएफसीलाई उजुरी गरिसकेको छ । दशरथ रंगशालामा खेल हुनेमा आशंका छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले भन्छ, ‘रंगशालामा निर्माणको क्रममा रग्बी प्रतियोगिता हुँदैछ । यसले झन मैदानको अवस्था जीर्ण बनाउँछ । यस्तो भएका खेल न्युट्रल भेन्युमा हुन सक्छ ।’

नेपाल र बहराइनबीच चैत ८ गते दशरथ रंगशालामा हुँदैछ । समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुबै खेल हारिसकेको छ । युएई र यमनसँग हारेको नेपालले तेस्रो खेलमा बहराइनसँग घरेलु मैदानमा खेल्न लागेको हो ।

रग्बीसंघको आयोजनामा दशरथ रंगशालामा भोलि (आइतबार) बाट राष्ट्रिय स्तरको फिप्टिन्स रग्बी च्याम्पियनसिप सुरु हुँदैछ । प्रतियोगिता फागुन १२ गतेसम आयोजना हुनेछ ।  आयोजकले आइतबारबाट सुरु हुने प्रतियोगिताको लागि शनिबार रंगशालामा विभिन्न पूर्वाधार बनाउँदैछ । यही प्रतियोगिताको कारण रंगशालामा दुबो थप विग्रने पक्का छ ।

नेपालको यु–२३ टोली र चीनको प्रान्तिय टिमबीच खेल हुँदा नै मैदानको सर्बत्र आलोचना भएको थियो । कमजोर मैदानमा खेलाएको तथा दुबो भन्दा बढी माटो देखिनु र बढी धुलो उडेपछि समर्थकले आलोचना गरेका थिए ।

‘अहिले नै मैदानको स्थिति निकै कमजोर छ । राखेपले पनि यस्तो समय हेर्दिनु पर्ने हो,’ ती पदाधिकारीले भने, ‘एएफसीले जवाफ मागिसकेको छ ।’

दशरथ रंगशाला नेपाल सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रेखदेख गर्छ । उसले रंगशालामा फुटबलसँग सँगै विभिन्न कार्यक्रम आयोजना गर्न शुल्क लिएर स्विकृति दिने गरेको छ । राष्ट्रिय संघहरुलाई भने निशुल्क खेल प्रतियोगिता आयोजना गर्न दिन्छ ।

नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो । तर, यो पनि सरकार मातहत भएकाले सबै खेललाई अवसर दिने गरेको छ । जसको प्रभाव फुटबललाई पर्छ । वर्षभर जोगाएर राखेको दुबो यस्तै प्रतियोगिता र कन्सर्टको समयमा बिग्रन्छ । 

यसअघि सन् २०१९ नेपाल र कुवेतबीचको छनोट खेल पनि दशरथ रंगशाला तयार नहुँदा न्युट्रल भेन्युको रुपमा भुटान पुगेको थियो ।