एएफसी एसियन कप

दक्षिण कोरिया अन्तिम १६ मा

काठमाडौं । मलेसियासँग ३-३ को बराबरीमा रोकिएपनि दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बराबरीसँगै तीन खेलमा पाँच अंक जोडेको दक्षिण कोरिया समूह ‘इ’ को उपविजेता बन्यो । समान खेलबाट एक अंक जोडेको मलेसिया अन्तिममा रहेर बाहिरियो ।

अल जानौब रंगशालामा कोरियाका लागि जिओङ्ग वु यिओङ्गको र कप्तान सन ह्युङ्ग मिनले गोल गर्दा । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । मलेसियाका लागि फैसल हालिम, आरिफ हान्पी र रोमिल मोरेल्सले गोल गरे ।

खेलको २१ औं मिनेटमा यिओङ्गको गोलमार्फत कोरियाले अग्रता लिएको थियो । ५१ औं मिनेटमा हालिमले मलेसियालाई बराबरीमा ल्याए ।

६२ औं मिनेटमा हान्पीले पेनाल्टीमार्फत गोल गर्दा मलेसिया २-१ ले अगाडी बढ्यो । ८३ औं मिनेटमा सिहान हाज्मीबाट आत्मघाती गोल हुन पुग्दा कोरिया २-२ को बराबरीमा आयो ।

इन्जुरी समयमा ह्युङ्ग मिनको पेनाल्टी गोलमार्फत कोरियाले ३-२ को अग्रता लिएको थियो । इन्जुरी समयमै मोरेल्सले गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।

यही समूहको अर्को खेलमा जोर्डनलाई १० ले पराजित गर्दै बहराइन विजेता बन्यो । बहराइनले तीन खेलमा ६ अंक जोड्यो । पराजयसँगै तेस्रो स्थानमा रहेको जोर्डनको समान खेलबाट ४ अंक रह्यो । जोर्डनको तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीका रूपमा अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ ।