आहा रारा पोखरा गोल्डकप

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आयुषलाई

पोखरा । सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ ।

प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले आयुषलाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्र छ ।

पोखरामा मंगलबारबाट सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन अवसरमा फुटबल खेलाडी घलाललाई सम्मान गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर आयुषलाई ५० हजार ५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ ।

हेटौंडा उपमहानगरपालिका १८ का आयुषले अष्ट्रेलियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । एक महिनाअघि सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणमा आयुषले पोखरा थन्डर्सको प्रतिनिधित्व गरेका थिए ।

 पहिलो संस्करणमा ट्यालेन्ट हन्टबाट टोलीमा आबद्ध हुने मौका पाएका आयुषलाई यसपाली क्लबले मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको थियो । पोखरा, शीर्ष स्थानमा रहेर प्लेअफको यात्रा गर्न सफल रहँदा आयुषले प्रभावशाली प्रदर्शन गरेका थिए । जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आयुषले संकटा क्लबबाट खेलेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको छ ।

कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि सुरु भएको यस समारोहमा सहाराले गत वर्ष अञ्जन विष्टलाई सम्मान गरेको थियो । त्यसअघि अभिषेक रिजाल, सुजल श्रेष्ठ, किरण चेम्जोङ र भरत खवास यो पुरस्कारबाट सम्मानित भएका थिए ।

माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने यस वर्षको आहा रारा पोखरा गोल्डकपमा आयोजकसहित १२ टिमले भाग लिएका छन् ।